काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक लाइन के हो भनेर प्रश्न उठिरहेका बला सो पार्टीका संस्थापक महामन्त्री मुकुल ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जिज्ञासा मेटाउने काम गरेका छन् । उनले रास्वपा गठनताका सो पार्टीका अध्यक्ष रवि लामिछाने र आफूबिच पार्टीको राजनीतिक लाइनबारे लामो कुरा भएको, अध्यक्ष लामिछाने राजतन्त्रलाई नै समेटेर जाने पक्षमा रहेको, यो बिचमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर अध्यक्ष लामिछानेले आफ्ना कुरा पनि राखेको तर पूर्वराजाबाट सकारात्मक कुरा नआएपछि रास्वपाले गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गरेको बताएका छन् ।
उनले मंगलबार सामाजिक लेखेका छन्, ‘पार्टी खोल्नु अघि ‘राजतन्त्र’ को लाइन लिने कि ‘गणतन्त्र’ को भनेर रवि दाइ र मबिच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागी कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबिच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।
त्यतिबेला मैले रवि दाइलाई भने, ‘राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नुपर्छ । जसलाई ल्याउन खोजेको हो, ऊ आफैँले त ‘म आउने हो’ भन्न पर्यो नि ।’ राजा बोल्न तयार भएनन्, तर त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’ लाई कुनै न कुनै ढङ्गले समेटौँ भनिराख्नु भयो । मैले प्रस्ताव राखेँ, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नु भयो । मेरो प्रस्ताव थियो– ‘राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तीमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठूला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरी एकै पटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।’ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया