काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्ति गर्न डटेर लागिपरेको बताएका छन् ।
आइतबार कान्ति बाल अस्पतालको ६२औं वार्षिकोत्सव समारोहमा बोल्दै बस्नेतले मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न मन्त्रीस्तरीय निर्णय गरेर प्रस्ताव गरिसकेको र उक्त विषयमा सबैको एकस्वर रहेको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा ठूलै संख्यामा जनशक्तिको वृद्धि गर्ने अवस्थामा मन्त्रालय पुगिसकेको बताए ।‘म जनशक्ति वृद्धि गराउन लागि परेको छु । अब चाँही जनशक्ति वृद्धि हुने भएको छ । यो खुसीको कुरा हो । ठूलै संख्यामा जनशक्ति प्राप्त हुनेवाला छ,’ उनले भने ।उनले मन्त्रालयले प्रस्ताव गरेको चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर गुणस्तरीय चिकित्सा शिक्षाका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन दिने प्रस्तावमाथि राजनीतिक दलहरु पनि एक भइसकेको प्रष्ट पारे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न सयदेखि तीनसय शैयाका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन दिनुपर्ने विषयमा गरेको प्रस्तावको पक्षमा राजनीतिक दलहरु सहमत रहेको सुनाए ।मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रालयले निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वय गर्न भनेर पत्र लेखेका छौं । मैंले क्याविनेटमा र सभामुखज्युलाई कुरा राखेको छु । पार्टीका नेताहरुलाई पनि भनेको छु । पार्टी सभापति शेरबहादुर देउवा ज्युलाई पनि यो कुरा राखे नेपाललाई चिकित्सा शिक्षा क्षेत्रको हब बनाउन सबैको एक स्वर छ ।’
उनले कान्ति बाल अस्पतालको संरचना निर्माण र अस्पतालको सुधारमा एकजुट भएर लाग्न सबैलाई आग्रह गर्दै आफूपनि लाग्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य, कान्ति बाल अस्पतालका पूर्वनिर्देशक तथा बालरोग विशेषज्ञ प्रा डा.आरपी बिच्छाले स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती बनेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । उनले मन्त्री बस्नेतले जनशक्तिको व्यवस्थापनका लागि गरेको प्रयास राम्रो भएको जिकिर गर्दै त्यसमा डटेर लाग्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया