म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन् ।
नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरि गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५ को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को बेँशी पन्थोकमा आयोजना निर्माण भएका हुन् ।
नेवाका प्राविधिक निरीक्षक रामबहादुर बुढाले ९४ लाख नौ हजार आठ सय ०२ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय ५३ घरधुरी लाभान्वित भएका छन् । “घरघरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,” उनले भने “आगामी आर्थिक वर्ष २०८०\८१ मा धवलागिरि–२ खोरिया र लमसुङमा दुई खानेपानी आयोजना बनाउन सर्वेक्षण भएको छ ।”
५७ लाख ६२ हजार ८०३ को लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन् । छहराको मुहानबाट पानी ल्याएर मल्कवाङमा ४९, होपाटोलमा ३८ घर, वडा, विद्यालय र स्वास्थ्य चौकीमा एक-एकवटा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर छन्त्यालले जानकारी दिएका छन् । “घरघरमा धारा बनाएर पानी वितरण गरेपछि समयको बचत, सुविधा र जनजीवन सहजका भएको छ,” उनले भने “यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामा पर्याप्त पानी नआउँदा समस्या भएको थियो ।” यसका लागि उपभोक्ताले प्रतिघर ४५ दिनका दरले श्रमदान गरेका थिए ।
सोही वडाको भेडिखाल्टामा नेवाको रु दश लाख ५४ हजार आठ सय ७८, धवलागिरि गाउँपालिकाको छ लाख ९४ हजार आठ सय ८२ अनुदान र उपभोक्ताको चार लाख २३ हजार सात सय ६९ बराबरको श्रमदानमा अर्को खानेपानी आयोजना निर्माण भएको छ । सो आयोजनाबाट ३९ वटा घरधुरी रहेको भेडिखाल्टामासँगै जोडिएका दुई वटा घरले एउटा धारा प्रयोग गर्ने गरी ३४ वटा धारा बनाइएको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिएका छन् । यसैगरी धवलागिरि गाउँपालिका–६ मा १४ लाख ७३ हजार चार सय ७० को लागतमा निर्माण भएको बेँसी पन्थोक खानेपानी आयोजनाबाट २९ वटा घरधुरीका दुई सय १२ जनसङ्ख्या लाभान्वित भएका छन् ।
जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लबको भवनमा पानी वितरण गर्न निजी धारा जडान गरिएको छ । नेवाको सात लाख ७७ हजार ९२, गाउँपालिकाको तीन लाख ९९ हजार चार सय ७५ अनुदान तथा उपभोक्ताको रु ३३ हजार चार सय ५९ नगद र दुई लाख चार सय ४४ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको स्थानीय भूमिका गर्बुजाले बताए । आगामी वर्ष मालिका गाउँपालिकामा ६ वटा र मङ्गला गाउँपालिकामा तीन खानेपानी आयोजना निर्माण गर्न लागिएको नेवाले जनाएको छ ।
‘लोगो’ सार्वजनिक
म्याग्दीको बेनी नगरपालिकाले आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गरेका छन् । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत लोगोको डिजाइन गरेको हो । प्राप्त भएका तीन मध्ये बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत समेत रहेका खत्रीले लोगो बनाएवापत प्राप्त भएको पुरस्कार रकम अपाङ्ग बालबालिकाले पढ्ने स्रोत कक्षालाई उपलब्ध गराउने घोषणा गरेका छन् । बेनी –५ बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई रु। १२ हजार पाँच सयका दरले सहयोग गर्ने उनले बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारा बनाएको नगरपालिकाको लोगोमा पालिकाको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ ।
बेनीको दश वटै वडाको पहिचान झल्कने गरि लोगोको डिजाइन तयार पारेको खत्रीले बताए। नगरपालिकाले कामकाजमा राष्ट्रियसँगै आफ्नो लोगो पनि प्रयोगमा ल्याउन प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए। विसं २०७१ जेठ २५ गते तत्कालीन अर्थुङ्ग, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर र घतान गाविस समावेश गरेर नगरपालिका घोषणा भएकोमा राज्य पुनसंरचनाको क्रममा भकिम्ली र पात्लेखेत गाविसलाई पनि समेटिएको छ ।
स्थापना दिवसका अवसरमा दश वडाका एक-एक विपन्न नागरिकलाई नगद पाँच हजारका दरले आर्थिक सहयोग वितरण गरिएको नगर प्रमुख केसीले बताए । वडा नम्बर १ देखि १० सम्मका क्रमश स् लक्ष्मी नेपाली, गोपाल सार्की, टेकबहादुर सुनार, बुद्धिमाया किसान, कमल बहादुर खत्री, खिमबहादुर नेपाली, पुजा बि।क।, ज्ञानमाया क्षेठ, खमबहादुर राई र जालमाया रोकालाई आर्थिक सहयोग गरिएको प्रशासकीय अधिकृत युवराज थापाले बताए।
यसैगरी सार्वजनिक भएका एचआइभी सङ्क्रमित दश जनालाई एआरभी औषधी लिन स्वास्थ्य संस्था जान आउने लाग्ने खर्च वापत दश हजार रुपैँयाका दरले सहयोग गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले बताए । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १५ जनप्रतिनिधि, कर्मचारीहरुले रक्तदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया