किसानलाई बाख्रा र धानको बीउ

लोकपथ
0
Shares

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ ।

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताए । यो कार्यक्रम मार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । “राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत  गरिनेछ, १७ समूहलाई  दुई लाखका दरले वितरण गरिनेछ”, उनले भने ।

भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए । निर्वाहमुखी कृषक कार्यक्रम मार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने जानकारी दिएका छन् । उनले महानगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

धानको बीउ वितरण
भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ । भरतपुर–२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकलाई धानको बीउ वितरण गरिएको हो । महानगरपालिकाले प्रतिकिलो  ३० का दरले अनुदान दिएको हो ।

भरतपुरमा रहेका ७२ कृषि सहकारीमार्फत दुई सय ३३ मेट्रिक टन बीउ नौ हजार बढी कृषकलाई वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिएका छन्। उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?