खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क निर्माणको काम शुरु गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको संयुक्त एक करोड ७२ लाखको लगानीमा पार्क निर्माणको काम शुरु गरिएको हो ।
चालु आर्थिक वर्षमा सङ्घीय सरकार र नगरपालिकाको रु ८० लाख ५० हजार बजेट बराबरको काम गरिने किरात राई चाम्लिङ राखमीहँछा उत्थान समाजका सचिव उद्धव राईले जानकारी दिए। “भविष्यमा राखमीहँछा पाछाका चाम्लिङ राईको बारेमा अनुसन्धान गर्न अनुसन्धन केन्द्र बनाउने उद्देश्यले पार्क निर्माणको काम शुुरु गरिएको हो”, उनले भने, “निर्माणाधीन पार्कमा हामी चाम्लिङ राई राखमीहँछाको पुर्खा हँतोलुङको पूर्णकदको शालिकसमेत राखिने छ ।”
साँढे १४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने पार्क निर्माणको ठेक्का खोटाङकै महादेव निर्माण सेवा कम्पनीले लिएको र आगामी असार मसान्तसम्ममा यस वर्ष सम्झौता गरिएअनुसारको सबै काम सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
स्थानीय चार जग्गादाताले निःशुल्क उपलब्ध गराएको नौँ रोपनी तथा स्वर्गीय हस्तीमान र कमलमाया राईका चार छोराले किनिदिएको साँढे पाँच रोपनी जग्गामा यसवर्ष हँतोलुङको शालिक, सङ्ग्रहालय र शौचालयको काम हुने सचिव राईले जानकारी दिए। “सङ्ग्रहालयमा चाम्लिङ राखमीहँछाको जन्मदेखि मृत्युसम्ममा प्रयोग भएका परम्परागत सामान राखिनाका साथै भाषा, संस्कार र संस्कृति झल्काउने हातहातियार, वेषभूषालगायत सामग्री राखिन्छ”, उनले भने, “चाम्लिङ राई राखमीहँछाहरुले हँतोलुङलाई पुर्खा मानेर पुज्ने गरेका छन् । उनी हँतोलुङको सम्मान र सम्झनाका लागिसमेत पार्क निर्माणको काम शुरु गरिएको हो ।”
पार्क निर्माणका लागि स्थानीयवासी डम्बर विश्वकर्माले एक रोपनी, देवान राई, दीर्घ राई र नीरकुमार राईले तीनतीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो । यस्तै चन्द्र चाम्लिङ राई, भीम चाम्लिङ राई, ध्रुव चाम्लिङ राई र शैलेन्द्र चाम्लिङ राईले स्वर्गीय बुबाआमा हस्तीमान र कमलमाया राईको सम्झनामा चार रोपनी जग्गा किनेर हस्तान्तरण गर्नुभएको सचिव राईले जानकारी दिए ।
घामथलामा निर्माण शुरु गरिएको पार्क नुनथलास्थित खाम्ला निवासी राखमीहँछा परिवारका अग्रज पूर्खा ८७ वर्षीय लक्ष्मीध्वज राई, नगरप्रमुख तीर्थराज भट्टराई र वडाध्यक्ष भगेश्वर राईले सोमबार संयुक्तरुपमा शिलान्यास गरेका थिए । निर्माणाधीन ‘हँतोलुङ सांस्कृतिक पार्क’ले राखमीहँछा परिवारको संस्कार र सांस्कृति संरक्षणका साथै नगरको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने नगरप्रमुख भट्टराईले बताए ।
राखमीहँछा पाछाका चाम्लिङ राईहरुको अहिले हँतोलुङका १३औँ पुस्तामा आइपुगेको र तिनका सन्तान नेपालका विभिन्न २७ जिल्ला र भारतको सिक्कीममासमेत छरिएर बसोबास गरिरहेका बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया