बाँकेको स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते

लोकपथ
0
Shares

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठजना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार बिहान कम्पनीमा रहेको फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीमा बाँकेका पाँच र भारतको बहराइचका तीनजना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनको अवस्था थप उपचार आवश्यक परेपछि भारतको लखनऊ रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव, भारतका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद पनि छन् ।

आगलागी नियन्त्रणका लागि नेपालगन्जका दुई र कोहलपुरको एउटा दमकल प्रयोग गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?