काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जनशक्ति अभावका नाममा सेवाप्रवाह रोकिन नहुने बताएका छन् ।
सदरमुकाम खलङ्गामा आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा उहाँले धेरै कार्यालय र प्रदेशस्थित मन्त्रालयमा जनशक्ति अभाव रहेको प्रसङ्ग उल्लेख गर्दै सेवा प्रवाह भने रोकिन नहुने बताउनुभएको हो । मन्त्री सिंहले जनशक्ति व्यवस्थापनका लागि आफ्नो मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।
“जनशक्ति अभावले सेवा प्रवाह रोकिनु हुँदैन, जनतालाई दुःख दिनु हुँदैन, जनशक्ति व्यवस्थापनमा हाम्रो मन्त्रालयले केही गर्नुपर्छ भने भन्नुहोला, हामी सहमति दिन तयार छौँ”, उनले भने। मन्त्री सिंहले जनशक्ति अभावले बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको भए त्यसमा ध्यान दिइने बताए। उनले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए। मन्त्री सिंहले तर्जुमा गरिएका योजनालाई नतिजामुखी बनाउन आवश्यक रहेको बताए।
“योजना तर्जुमा गरेर मात्र हुँदैन, त्यसलाई नतिजामुखी बनाउनुपर्छ, बजेट कार्यान्वयनका विषयमा अप्ठ्यारा छन्, निर्माण व्यवसायीका कारण भएको हो भने कडाइ गर्नुहोस्, प्राकृतिक विपत्तिबाहेक अन्य अवस्थामा ठेकेदार कम्पनीको म्याद नथप्नुहोस्”, मन्त्री सिंहले भने। विकासलाई गुणस्तरीय बनाउनसमेत मन्त्री उनले निर्देशन दिए। अबका योजनालाई नतिजामुखी बनाउनुको विकल्प नरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया