काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजे सम्मको समयसीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए । सोही अनुसार गिरीले ५८ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए ।
यसअघि सत्ता साझेदार दलमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले पाउने सहमति भएको थियो । सत्ता गठबन्धन दलमा भएको केन्द्रीय सहमतिकै आधारमा नेता गिरीले मुख्यमन्त्री नियुक्तिका लागि बहुमत दलको समर्थनमा दाबी पेश गरेका हुन् ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया