सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । सत्ता साझेदार दलका नेताहरुको बैठक आज बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्ड निकट बताइएको छ ।

कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा अहिलेसम्म दलहरुबीच साझा सहमति हुन सकेको छैन । बैठकमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ । प्रदेश १ मा दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिदैछ ।

प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् । शीर्ष नेताहरुबीच भागबण्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्यौल छ । यद्यपि प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले भएकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ । यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ ।

बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ । त्यसैले आफूले विश्वासको मत लिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउनुपर्ने दबावमा प्रधानमन्त्री प्रचण्ड छन् । स्रोतका अनुसार सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने प्रयास आजको बैठकमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?