नेपाली कांग्रेसका युवा नेता राणाद्धारा प्रतिवद्धतापत्र सार्वजनिक

लोकपथ
49
Shares

ललितपुर । ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

ललितपुर १ बाट नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य उदय शम्शेर राणा संघीय संसदको उम्मेदवार रहेका छन् भने प्रदेश (क) मा माओवादी केन्द्रका हरि दाहाल तथा प्रदेश (ख) मा कांग्रेसकै मीनकृष्ण महर्जन रहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि एकतावद्ध अभियान, स्थिर सरकार र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक वाम गठवन्धनलाई मतदान गर्न आग्रह गरिएको छ । ४ पृष्ठमा गठबन्धनका उम्मेदवारले समावेशी विकास, सडक तथा पूर्वाधार विकास, शिक्षा, संचार तथा सूचना, स्वास्थ्य तथा स्वस्थ मानव जीवन, खानेपानी सरसफाई तथा सिंचाई, धार्मिक तथा पर्यटकीय विकास, कला संस्कृति र खेलकुद, आवास व्यवस्थापन र कृषि पशुपालनमार्फत जीविकोपार्जनका लागि आफ्ना एजेण्डाहरु मतदाता समक्ष राखेका छन् ।

संघीय संसदका उम्मेदवार राणाले नेपालको संविधान २०७२ र संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै तत्कालिन ओली सरकारवाट प्रहार भएका कारण संविधान र संवैधानिक व्यवस्था वचाउन तथा प्रतिगमनलाई परास्त गर्न २०७८ असारमा पाँच दलीय गठबन्धन निर्माण भएको र अहिलको चुनाव संविधान रक्षाका लागि हुन लागेकाले सबैले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, आय आर्जन नै समृद्ध जीवनका आधार रहेकाले ती कुराहरुलाई पूरा गर्नका लागि लोकतान्त्रिक वामगठबन्धनले क्षेत्र नम्बर १ का लागि साझा प्रतिवद्धता सार्वजनिक गरेको राणाले बताए ।

केही विषयहरूमा फरक विचार र दृष्टिकोणहरूका कारण नै अलग अलग पार्टीहरूको अस्तित्व रहेको बताउँदै आ–आफ्नो वैचारिक पहिचान सहित वृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकताहरूलाई मध्यनजर गरी साझा दृष्टिकोण आएको र त्यसैको आधारमा चुनावी गठबन्धन बनेको कुरा आम मतदाताले बुझ्दै गएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?