‘विपद् व्यवस्थापनमा ‘स्पष्ट टीओआर’सहित संसदीय समिति गठन गरौँ’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् व्यवस्थापनका लागि स्पष्ट कार्यादेश (टीओआर) सहित संसदीय समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राईले सत्तारुढ दलका सभापतिलाई समेत संसदीय समिति गठन गरेर विपद्को व्यवस्थापनमा सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गरिएको बताएका हुन् ।

उनले विपद् कुनै पक्ष वा प्रतिपक्षको नभई साझा विषय भएकाले कांग्रेस सरकारलाई सर्तरहित रूपमा सहयोग गर्न तयार रहेको बताए । तर त्यसका लागि सरकारको तदारुकता र प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ । राईले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता नदेखिएकोप्रति समेत प्रश्न उठाए । उनकाअनुसार बुधबारको बैठकमा सत्तारुढ दलका सभापति, प्रमुख प्रतिपक्ष दलका सभापति तथा पूर्वप्रधानमन्त्रीहरू सहभागी भए पनि प्रधानमन्त्रीको उपस्थिति थिएन ।

राईले भने, ‘विपद्को बेला सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ। सरकारबाटै यस्ता पहल र प्रधानमन्त्रीको उपस्थिति भएको भए काम अघि बढाउन अझ सहज हुन्थ्यो ।’

उनले विपद्पछि खोज तथा उद्धारसँगै पुनस्र्थापना र पुनर्निर्माणलाई योजनावद्ध ढंगले अघि बढाउनुपर्ने बताए ।

रसुवालगायत प्रभावित क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्दै पुनर्निर्माणको स्पष्ट योजना बनाउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?