लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार गर्ने उम्मेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

लोकपथ
161
Shares

काठमाडाैं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचार-प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुने तर्फ काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका सर्लाही क्षेत्र नं. २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना रहैका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ । दलले कुनै स्वतन्त्र उम्मेदवारलाई लौरो चिन्हको नाममा प्रचार-प्रसार गर्न दिन सक्दैन, न त कुनै स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन चिन्ह रहेको भनी प्रचारप्रसार गर्न पाउँछ । लौरो निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारले परिपूरक चिन्ह भनी प्रचारप्रसार गर्न पनि मिल्दैन ।

लौरौ चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएका व्यक्तिले कानुनी रुपमा लौरो निर्वाचन चिन्हमार्फत आफ्नो मत माग्न सक्दछन् तर आफूहरू स्वतन्त्र अभियानको अङ्ग भएको वा देशभरका स्वतन्त्रहरू लौरो निर्वाचन चिन्हको छातामा रहने भनी प्रचारप्रसार गर्न पाउँदैनन् ।

साथै अन्य कुनै उम्मेदवारले समेत यस्तै प्रकृतिको कार्य गरेको पाइएमा जिल्लास्थित सम्बन्धित अनुगमन अधिकृतले यसैबमोजिम सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया प्रारम्भ गरी आयोगलाई सोको जानकारी दिन समेत निर्देशन दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?