रुपन्देही । राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतवार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । बोहरा २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका थिए ।
गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित भएका थिए । त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।
क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बोहराको प्रतिस्पर्धा गृहमन्त्री तथा कांग्रेस नेता खाणसित हुन लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया