काठमाडौं । हिमाली जिल्ला रसुवा चुनावका बेला सधैँ चर्चामा रहन्छ । थोरै मतदाता भए पनि उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुने गरेका कारण थप रोचक बन्ने गरेको थियो रसुवाको चुनाव ।
तर आगामी निर्वाचनमा भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यलाई थप सजह बन्ने देखिन्छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई जितेका आचार्यलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा प्रतिष्पर्धाबाट पराजित एमालेका जर्नादन ढकालले आचार्यसँग प्रतिष्पर्धा गर्ने आँट गरेनन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बन्दा समेत हराउन नसकेका ढकालले आफू उम्मेदवार बन्न नसक्ने घोषणा गरेसँगै एमालेले आचार्यविरुद्ध उम्मेदवारको खोजिमा थियो । अन्य उम्मेदवार नपाएपछि एमालेले आचार्यविरुद्ध छोवाङ तेन्जिङ तामाङलाई उम्मेदवार बनाएको छ । उनी आचार्यको अघि कमजोर उम्मेदवार रहेको एमालेकै नेताहरु बताउँछन् । जसको कारण आचार्यलाई अघिल्लो निर्वाचनमा भन्दा पनि यो निर्वाचन जित्न थप सहज हुने धेरैको दाबी रहेको छ ।
संविधान सभाका सदस्य बनेका तामाङ राजनीतिक प्रभाव कम भएका नेताको रुपमा चिनिन्छन् । आचार्य सामाजिक काममा समेत सक्रिय रहेका कारण पनि आचार्यको अघि तामाङ कमजोर उम्मेदवार रहेको एमालेकै नेताहरु बताउँछन् ।
त्यसो त गत स्थानीय निर्वाचनको कुरा गर्दा पनि नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारहरुले ल्याएको मत धेरै छ । स्थानीय निर्वाचनमा रसुवामा कांग्रेसका वडाध्यक्षहरुले पाएको मत ११ हजार ८ सय ३९ रहेको छ ।
त्यसैगरी एमालेका वडाध्यक्षहरुले पाएको मत ११ हजार ४० मात्र रहेको छ । यता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले ४ हजार ३ सय ९२ रहेको छ । यसरी हेर्दा समग्र मतमा कांग्रेस अघि देखिन्छ । गठबन्धनको समेत साथ रहँदा जित निकाल्न आचार्यलाई थप सहज देखिन्छ । आचार्य आएको खण्डमा पार्टी भन्दा बाहिरका मान्छेहरुबाट समेत त्यतिकै सहयोग जानकारहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया