किन तान्यो ‘इन्टु मिन्टु लण्डनमा’ ले हलसम्म दर्शक? कस्तो छ फिल्म?

काठमाडौं । कमै नेपाली फिल्मले हलसम्म दर्शक तान्ने सामथ्र्य राख्ने गर्छन् । तीजको अवसर पारेर रिलिज भएका दुई चलचित्र ‘रोज’ र ‘रामकहानी’ पनि विदाको दिन राम्रै दर्शक ताने । बीचका केही फिल्म लापत्ता भए । अहिले रिलिज भएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले हलमा दर्शक ओसारेको छ ।

शनिवारको कुरा गर्ने हो भने चलचित्रले आक्रामक व्यापार गरेको छ । मल्टिप्लेक्समा मात्र होइन, सिंगल थिएटरमा पनि फिल्मले राम्रो प्रतिक्रिया पायो । दर्शकको भीड बनाइदियो । अझ कतिपय हलमा त फिल्मका टिकट ब्ल्याकमा समेत बेचियो । काठमाडौंको गोपीकृष्ण हलमा टिकट ब्ल्याकमा विक्री भएको खबर आयो ।

जे होस्, फिल्मले दर्शक तान्यो ।साम्राज्ञी राज्यलक्ष्मी शाहबाहेक अरु कलाकार त्यति चलेका नभए पनि फिल्मले राम्रो व्यापार गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । कतिपयले त यो फिल्म चल्नुको कारण धिरज, सारुक र साम्राज्ञीलाई मानेका छन् भने कतिपयले फिल्मको मेकिङ नै स्तरीय भएको प्रतिक्रिया दिएका छन् ।

कस्तो छ त फिल्म?

यो सिनेमालाई बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ बाट प्रभावित फिल्म पनि भनियो । तर फिल्मको केही प्लट र पात्र मिलेपनि पूरै फिल्म भने मिल्दैन । फिल्मको कथाअनुसार साम्राज्ञी र धिरजको छोटो समयमै प्रेम हुन्छ । तर, पारिवारिक कारणले गर्दा प्रेममा अवरोध आउँछ ।

त्यसपछि कथा र पात्रको मनोविज्ञानलाई फिल्ममा देख्न सकिन्छ । तर, कथा अनुसार फिल्मको मेकिङ भने लोभलाग्दो छ । मुख्य कलाकारको अभिनय त्यति झुर छैन । साम्राज्ञी केन्द्रीय भूमिकामा देखिए पनि सारुक ताम्राकार र धिरज मगरको अभिनय क्याची छ । दर्शकले गीत संगीत, अभिनय र चकलेटी कलाकारलाई मन पराएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?