काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको पाँच दिनमा सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
चलचित्रले प्रदर्शनको तीन दिनमै पाँच करोड रुपैयाँको आँकडा पार गरेको थियो। उक्त अवधिमा सिनेमाले पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । त्यसपछि पनि चलचित्रको व्यापारले गति कायम राख्दै पाँच दिनमा सात करोड रुपैयाँको आँकडा पार गरेको हो ।
प्रदर्शनको सुरुवातदेखि नै चलचित्रले हलमा ठूलो संख्यामा शो पाउँदै आएको छ। अधिकांश शो अग्रिम बुकिङमै हाउसफुल भइरहेका छन् । दर्शकको उत्साहजनक उपस्थितिले चलचित्रको व्यापारमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए। पाँचौँ शृंखलाले पनि अघिल्ला भागको व्यावसायिक सफलतालाई निरन्तरता दिएको छ ।
चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ ।
चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन् । गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ चलचित्रका निर्माता हुन् । कथासमेत निर्देशक गुरुङले नै लेखेका छन् ।
सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ । सागर राज चलचित्रका कार्यकारी निर्माता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया