महोत्तरी । लोकआस्थाको महापर्व छठ मनाउने व्रतालुहरू आज कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रतमा छन् । शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुहरूको ३६ घण्टे निराहार व्रत सुरु भएको हो ।
यसअघि शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट छठ पर्व सुरु भएको थियो । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।
मिथिला क्षेत्रमा छठको ‘खरना’ विधिमा दिनभर उपवास बसेर साँझ सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाई प्रसादका रूपमा खाने परम्परा छ । खरना सम्पन्न भएपछि व्रतालुहरू निराहार व्रतमा बस्ने गर्छन् ।
छठ पर्वमा भगवान् सूर्य र उनकी पत्नी षष्ठी देवीको पूजा आराधना गरिन्छ । यस पर्वका लागि घरघरमा ठकुवा, भुसुवा, केरा, नरिवललगायतका प्रसाद तथा फलफूल तयार गरिँदैछन् ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने क्रममा व्रतालुहरूले ठकुवा, भुसुवा, केरा तथा अन्य फलफूल र प्रसाद सूर्यदेवलाई अर्पण गर्नेछन् । मिथिला क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
साँझको अर्घ्यपछि व्रतालुहरू रातभर जलाशय तथा घाटमै बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउने गर्छन् । भोलि बिहान सूर्योदय हुनुअघि नै व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर सूर्यदेवको पूजा तथा प्रार्थना गर्छन् ।
सूर्योदय भएपछि अघिल्लो साँझ अर्पण गरिएका प्रसाद पुनः सूर्यदेवलाई चढाएर अर्घ्य दिइन्छ । यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । यही विधिसँगै छठ पर्व सम्पन्न हुन्छ ।
सूर्य र छठी देवीको आराधना गर्दा मनोकामना पूरा हुने, सुख–शान्ति प्राप्त हुने, सन्तानबाट खुसी मिल्ने तथा रोगव्याधिबाट मुक्ति पाइने धार्मिक विश्वास मिथिला क्षेत्रमा रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया