हरितालिका तीज : भड्किलो बन्दै गएको पर्व, यस्तो छ सांस्कृतिक महत्त्व !

काठमाडौं : आज हरितालिका तीज । हिन्दू महिलाहरुको महान चाड । देशभरिका शिव मन्दिरहरुमा आज महिलाहरुका बिहानैदेखि बाक्लो उपस्थिति छ ।

हिन्दू महिला दीर्घायुको कामना गर्दै निर्जल, निराहार व्रत बस्ने गर्छन् । विवाहित महिलाहरु आफ्ना पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गर्छन् भने अनि अविवाहित युवतीहरु योग्य पतिको कामना गर्दै । त्यसैले तीजलाई महिलाहरुले प्रेमको पर्वका रुपमा समेत मनाउने गर्छन् ।

परम्परागत रुपमा मनाइँदै आइएको ‘हरितालिका तीज’ को शुरुवात प्रेमकै कारण भएको पाइन्छ । यस पर्वले शिव र पार्वतीको मायालाई प्रतिबिम्बित गर्छ । तीजको व्रत बसेकै कारण पार्वतीले शिवजीलाई आफ्ना पतिका रुपमा पाएकी हुन् भन्ने हिन्दू धर्मावलम्बीहरुको विश्वास छ ।

हिमालय पर्वतकी सुपुत्री पार्वतीले मनमनै शिवजीलाई आफ्नो पति मानेतापनि उनका पिताले उनको विवाह विष्णुसँग तय गरिदिएका थिए । त्यसैले पार्वतीका सखीहरुले उनलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राख्ने क्रममा सोही ठाउँमा पार्वतीले निर्जला व्रत बसेर महादेवलाई आफ्ना पतिका रुपमा प्राप्त गरेकाले यस दिनलाई हरितालिका तीजका रुपमा मनाइएको हो भनेर स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

त्यसैले हरित अर्थात् ‘हरण’ र आलिका अर्थात् ‘सखीद्वारा’ हुँदै यस पर्वको नाम ‘हरितालिका तीज’ रहन गएको धार्मिक विश्वास छ ।

हरेक वर्ष भाद्र शुक्ल द्वितीयको दिन बेलुका विभिन्न प्रकारका मिष्टान्न भोजन ‘दर’ खाएर भोलिपल्ट अर्थात् तृतीयाका दिन निराहार, निर्जल व्रत बसेर यो पर्व मनाउने चलन छ । यद्यपि पानी समेत नखाई आफ्नो स्वास्थ्यलाई असर पु¥याएर व्रत बस्नु ठीक होइन भन्ने मानसिकताको विकास भएसँगै महिलाहरुले पानी र फलफूल खाएर व्रत बस्ने गरेका छन् ।

समयसँगै व्रत बस्ने प्रक्रियामा परिवर्तन आइरहेको छ । र, परिवर्तन व्रतको प्रक्रियामा मात्रै नभएर तीजको प्रक्रियामा समेत देखा परेको छ ।

उहिलेको तीज

धार्मिक महत्त्व मात्र नभएर तीजको छुट्टै सामाजिक महत्त्वसमेत छ । पहिलेको नेपाली समाजलाई हेर्ने हो भने उदारवादी सोच, लैङ्गिक समानता, महिलाको पहुँच आदिजस्ता विषयहरु एकादेशको कथाजस्तो लाग्छन् । नौ डाँडा पारि माइती, सबेरै घाम झुल्किनु अघिदेखि नै ढिकी जाँतो र मेलापात, घरधन्दा, परिवार मै अल्झिएर दिन बित्ने क्रममा छोरीहरु औँला भाँच्दै वर्षौंदेखि पखाईमा हुन्थे ।

आफ्नो माइतीको पर्खाइमा हुन्थे । त्यसैले तीज चेलीका लागि विशेष हुन्थ्यो । वर्षभरि झेलेका दुःख, पीडाहरुका बारेमा धक फुकाएर आमासँग गुनासो गर्ने, वर्षभरि मीठोमसिनो चाख्न नपाएको जिब्रोले स्वाद फेर्ने, आफ्ना बालसखाहरुसँग भेटेर आआफ्ना घरपरिवारका बारेमा कुरा गर्दै रमाइलो नाँचगान गर्ने सुनौलो अवसर हुन्थ्यो ।

आफ्ना पति साथै सम्पूर्ण परिवारको सुस्वास्थ्य र समृद्धिका लागि मनबाटै प्रार्थना गरिन्थ्यो । कामना गरिन्थ्यो । रातो सारी, टिकी, हातभरि काँचका राता हरिया चुरा, रातै झुत्तो पोते, अनि सिउँदोमा झपक्कै सिन्दुर नै श्रंगारको प्रतीक मानिन्थ्यो । 

अनि तीजको रहर आयो बरी लै … गीतले पूरै तीजको मर्म समेट्थ्यो । सरल तर सुन्दर थियो तीज । महिलाहरु आफैले मौलिक गीत रचना गर्थे र धीत मारुञ्चेल नाच्थे ।
तर, समयसँगै तीजको रौनकताले काँचुली फेरेको छ ।

अहिलेको तीज

तीज मात्तिएको छ । बेलगाम भएको छ । झनै भड्किलो हुँदै गएको छ । तीजको हावा चल्दा नचल्दै पार्टी प्यालेस र सभा गृहहरुमा साउन्ड सिस्टमहरु घन्किन थाल्छन् । दर खाने निम्तोहरुको ओइरो लाग्छ । महिनाभरिको दर कार्यक्रमलाई पुग्ने गरी अगाडि नै कपडा र गहनाहरु छ्ट्याइन्छन् । सुुन्दरताको होडबाजी चल्छ । तीजका गीतहरुमा तीजको मर्म समेट्ने बाहेक सबै किसिमका शब्दहरु छताछुल्ल पोखिएका हुन्छन् । व्रत बस्नु पनि ‘फेशन’ जस्तै भइसकेको छ । 

अझ कतिपयले त सामाजिक सञ्जालमा आफूलाई ‘शो’ गर्नकै लागि अनेक तडकभडक गर्न थालेका छन् । जस कारण तीजलाई उत्सवको चाडभन्दा पनि विकृति र सामाजिक समस्याका रुपमा समेत हेर्न थालिएको छ ।

कतिपयले भने आधुनिकीकरणको नाममा तीजको धार्मिक, पारम्पारिक र सामाजिक विशेषतालाई आँच नपु-यार्इ समयानुकुल परिमार्जन गर्दै तीज पर्वलाई मनाउनुपर्ने आवाज उठाउँदै आइरहेका छन् । किनकि, तीज हिन्दू नेपाली महिलाको यो पर्व मात्र नभएर संस्कृति बोकेको एउटा महत्त्वको विशेष चाड पनि हो ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?