काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा मंगलबार प्रचण्ड र बाबुरामको भेटवार्ता भएको हो ।
छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टीबाट बाहिरिए पनि बाबुराम भट्टराई गठबन्धनबाट अलग नभएको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलमा भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘बाबुरामजी जसपाबाट बाहिरिनु भएको हो सत्ता गठबन्धनमा उहाँ अझै हुनुहुन्छ ।’
प्रचण्ड–बाबुरामबीच सिंहदरबारमा करिब एक घण्टा छलफल भएको थियो । छलफलमा माओवादी विचारधारका शक्तिबीच पुनः एकीकरण विषयमा पनि कुराकानी भएको अध्यक्ष ‘प्रचण्ड’ बताएका छन् ।
दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि छलफल गर्ने तयारी गरिएको छ । आजै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच यस विषयमा छलफल हुने बताइएको छ ।
जसपाका पूर्व नेता भट्टराईलाई वीरगन्ज बसेको केन्द्रीय समिति बैठकमार्फत उपेन्द्र यादव समूहले निष्कासन गरेपछि उनी फेरि नयाँ राजनीतिक दल खोल्ने अभियानमा अघि बढेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया