मौद्रिक नीतिबाट सेयर कर्जा नियन्त्रण नगर्नुस् : अध्यक्ष मैनाली

लोकपथ
21
Shares

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् ।

आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् । उनले सेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले शेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताए ।

अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर कर्जामा ४÷१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताए । उनले आगामी मौद्रिक नीतिमा सेयर कर्जामा ४-१२ को क्यापलाई हटाउनुपर्ने बताए । अध्यक्ष मैनालीले शेयर कर्जामा सीमा लगाउने भन्दापनि पहँुच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताए । उनले कमजोर र बलियो संस्थाको सेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताए ।

अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई शेयर खरिद गर्न रोक लगाएको कारण पनि सेयर बजार जोखिममा पुगेको बताए । उनले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु शेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरुलाई सेयर खरिद गर्नदिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताए । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत शेयर बजारमा ल्याउने तयारी भएपनि शेयर किन्ने बायर नै नभएको गुनासो गरे ।

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । उनले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?