काठमाडौं । नेपाली कांग्रेसले तारा एयरको विमान दुर्घटनाबाट मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेको छ ।
आइतरबार पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको खासाङ(२ स्थित सुनेसारको भीरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ३ जना चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको हो ।
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन संभाव्य सबै उपाय अबलम्बन गर्न पनि माग गरेको छ ।
‘२०७९ जेठ १५ गते आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको यात्रुवाहक जहाज मुस्ताङको थसाङ गाउँपालिका २ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण यात्रुहरुको निधन भएको घटनाप्रति नेपाली कांग्रेस दुःख प्रकट गर्दछ । नेपाली कांग्रेस यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । नेपालको हवाई सेवालाई सुरक्षित बनाउन संभाव्य सबै उपाय अबलम्बन गर्न पनि नेपाली कांग्रेस नेपाल सरकारसंग माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
आइतबार विमान दुर्घटना भएपनि प्रतिकुल मौसमका कारण खोजिकार्य सहज नभएको कारण आज मात्रै विमानको अवस्था पत्ता लागेको थियो । दुर्घटनास्थल अफ्ठ्यारो भएका कारण अझै सबैको शव संकलन हुन सकेको छैन । शव संकलनपश्चात सबै शव काठमाडौं ल्याइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया