काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ ।
सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले यात्रु र चालकलाई राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ ।
अभियानअन्तर्गत उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त रकम आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय र पुनर्स्थापनाका काममा प्रयोग गरिनेछ ।
यस्तै, अभियान अवधिमा उबरमार्फत सम्पन्न हुने प्रत्येक बाइक राइडबापत १० रुपैयाँ र क्याब राइडबापत २० रुपैयाँ उबरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ । त्यसैले अभियानमा जति धेरै राइड हुन्छन्, राहतका लागि उबरको योगदान पनि त्यति नै बढ्नेछ ।
यस अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा र चालकले पाउने आम्दानीमा कुनै परिवर्तन हुने छैन । प्रत्येक योग्य राइडबापत उबरले आफ्नै तर्फबाट थप रकम राहत कोषमा दिनेछ ।
उबरका नेपालका लागि रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्को समयमा यात्रु र चालकको सहभागिता महत्वपूर्ण हुने बताए । उनले हरेक राइडलाई बाढी प्रभावित क्षेत्रको राहत र पुनर्निर्माणमा सहयोग पुर्याउने अवसरका रूपमा लिन आग्रह गरे ।
उबर इन्डिया एन्ड साउथ एसियाकी हेड अफ इन्टरनेसनल मार्केट्स आकांक्षा सिंहले पनि नेपालको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन् । उनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिइन् ।
उबरले सबै यात्रु तथा चालकलाई अभियानमा सहभागी भएर बाढी प्रभावित समुदायको राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया