काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छिन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्यप्रगति विवरणबारे समेत जानकारी लिएकी छिन् ।
मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिएकी छिन् । बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भनिन्, ‘हामीले बारम्बार छलफल सल्लाह गर्छौं तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौं ।’
काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ छ । मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाहरूको पूँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिइन् ।
मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ५३.३९ प्रतिशत र पुँजीगततर्फ ३५.३९ प्रतिशत गरी कुल ३६.७३ प्रतिशत खर्च भइसकेको छ ।
उनले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको बताउँदै यस वर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताइन्।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण मन्त्री समक्ष पेस गरे। उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि बताए । यस्तै, सघन शहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको उनले बताए ।
मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, संघीय संसद सचिवालय लगायत विभाग र निकायले काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया