काठमाडौं । शीर्ष क्रमका ब्याट्स चल्न नसक्दा नेपाल शुक्रबार जिम्बाब्वे ए विरुद्धको पहिलो एक दिवसीय खेलमा शुक्रबार तीन विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा सात विकेट क्षतीमा पूरा गर्दा नेपाल ३ विकेटले पराजित भएको हो ।
सामान्य लक्ष्य पछ्याएको जिम्बाब्वेका लागि ओपनर इनोसेन्ट कायाले अविजित ४८ रनको पारी खेल्द । कायाले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै चेफास जुवाओले ३२ रन जोेडे । उनले २९ बला तीन चौका र दुई छक्का प्रहार गरे । नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान दुई तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले जिम्बाब्वे सामू १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे । यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । त्यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालले स्कोरबोर्डमा २२ रन जोड्दा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । यस्तै, ३२ रनमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको नेपालले स्कोरबोर्डमा ३३ रन जोड्दा तेस्रो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । जिम्बाब्वेविरुद्ध कुनै पनि समय राम्रो साझेदारी बनाउन नसकेको नेपालले ४७ रन जोड्दा चौथो विकेटको रुपमा रोहित पौडेललाई, ५६ रनमा पाँचौ विकेटको रुपमा दीपेन्द्रलाई, ७१ रन जोड्दा छैटौं विकेटको रुपमा आदिल आलमलाई, ८४ रन जोड्दा सातौं विकेटको रुपमा सुसन भारीलाई, एक सय २१ रन जोड्दा आठौं विकेटको रुपमा सोमपाल कामीलाई, एक सय ३४ रन जोड्दा नवौ विकेटको रुपमा करण केसीलाई र एक सय ३६ रनमा १०औं विकेटको रुपमा कप्तान सन्दीप लामिछानेलाई गुमाएको थियो ।
नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वेका ब्राड एभान्सले सर्वाधिक चार विकेट लिए । यसबाहेक, भिक्टर न्युची, ब्रान्डन मभुटा र सेफास झुवाओले समान दुई विकेट लिए । यससँगै जिम्बावे ए ले घरेलु टोली विरुद्धका तीन खेलको एकदिवसीय शृंखला १–० को अग्रता लिएको छ । यसअघि भएको तीन खेलकै ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया