काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरूमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ र उक्त रकम ग्लोबल आईएमई बैंकले १०० केडब्लूपी सौर्य मिनी ग्रिड परियोजना निर्माण-जडान तथा विद्युत् वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउने छ ।
बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसूदन अधिकारीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारी एवम् बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेका थियो ।
बैंकले यस्ता किसिमका परियोजनाहरूमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्झौता अन्तर्गत देशको दूर दराजमा सञ्चालन हुने साना परियोजनाहरू विभिन्न बैंकिङ सुविधा प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया