ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेका छन् : रामचन्द्र पौडेल

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका हुन् । । उनले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाए । उनले नेकपा एमालेले विकासका योजनाहरु अलपत्र बनाएको पनि बताए ।

वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको बताए । उनले नेपाली कांग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताए ।

वरिष्ठ नेता पौडेलले भने, ‘गाउँमै आम्दानी गाउँमै रोजगारी यो अभियान हाम्रो हुन्छ, काँग्रेसको हुन्छ । त्यसो भएकोले निर्धक्कसँग जनतालाई भन्नुहोस्, आज विकासको नाममा एमाले पार्टीका कार्यकर्ताले केन्द्रबाट बजेट लाने, आफैँ उपभोक्ता बन्ने, आफैँ ठेकदार बन्ने, बजेट सबै खल्तीमा हाल्ने । विकासको योजना अलपत्र पार्ने काम गरेका छन् । यसबाट हामी अब नेपाललाई मुक्त गर्छौं भनेर जनतालाई भन्नुहोस् तपाईहरुले । जनताको अधिकारमाथि हमला भएको छ । बारम्बार सांसद बनाएर जनताले भोट दिएर पठाउने, त्यसै संसदलाई भंग गरेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने देशमा लोकतन्त्रमाथि कुठाराघात गर्ने, राजा महेन्द्रले २०१७ सालमा गरेजस्तै संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली काँग्रेसले सामना गर्न गठबन्धन गरेको छ । आज वास्तवमा हाम्रो र ओलीको गठबन्धन । ओलीले पनि गठबन्धन गरेका छन् । ओलीको गठबन्धन कस्तो छ रु पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादीहरुलाई लिएर आज ओली गठबन्धन गरिरहेका छन् । तर हामीले परिवर्तनका पक्षधरहरु, संविधानका पक्षधरहरु र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेका छौँ । हाम्रो गठबन्धन राजनीतिक रुपले, सैद्धान्तिक रुपले, वैचारिक रुपले र राष्ट्रिय रुपले राष्ट्रको आवश्यक्ताको गठबन्धन हो । जनताको आवश्यक्ता हो । तर उनले गरेको गठबन्धन हेर्नुहोस् कस्ता तत्वसँग ओली आज हात मिलाउन गएका छन् ? सारा पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादी, भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको छ ओलीले । यो एमालेले । हाम्रो राजनीति पनि ठिक बाटोमा गएको छ । विकास रणनीति पनि सही ढंगको छ ।’

वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?