भक्तपुरमा आठ पदका लागि ५२ जनाको उम्मेदवारी

लोकपथ
0
Shares

भक्तपुर । भक्तपुरको चार वटा नगरपालिकाहरुमा मेयर र उपमेयर गरी कुल आठ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । त्यसमा पनि मेयर चार पदका लागि अत्याधिक बढी ३५ जनाको उम्मेदवारी परेको छ ।

उपमेयर चार पदका लागि १७ जनाको मात्रै उम्मेदवारी परेको छ । यहाँं विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी यी उम्मेदबारी दर्ता भएका हुन् ।

जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले जनाए अनुसार मेयरमा सबैभन्दा बढी मध्यपुर थिमीमा ११ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम भने सूर्यविनायक नगरपालिकामा ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

मेयर पदका लागि भक्तपुरमा आठ जना र चाँंगुनारायणमा नौ जनाको उम्मेदवारी परेको छ ।

यहाँं नेपाली कांग्रेससहितका सतारुढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी प्रमुख शक्तिका रुपमा रहेका छन् । साथै पछिल्लो पटक राप्रपाको पनि चाँंगुनारायण नगरपालिका क्षेत्रमा प्रभाव छ ।

नेपाली कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार उठाएको छ ।

त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकामा उपप्रमुख सुभद्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । सतारुढ गठबन्धनकोबीचमा भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायकमा गठबन्धन दलका अरु पार्टीलाई दिने सहमति भएअनुसार उम्मेदबार परेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भएअनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा उम्मेदवारी परेको छ ।

यता एमालेले मध्यपुर थिमीमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुखमा उठाएको छ । यसरी नै सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रविन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुखमा उठाएको छ ।

मदनसुन्दर मध्यपुर थिमीका हालका प्रमुख हुन् भने बासुदेव सूर्यविनायक नगरपालिकाका हालका प्रमुख हुन् । विना चाँंगुनारायण नगरपालिकाका हालका उपप्रमुख हुन् । उनीहरु तिनै जना एमालेबाट विजयी भएका थिए ।

यता भक्तपुरमा बलियो प्रभाव भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानौ अनुहार दोहयाएको छ । नेमकिपाले प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई उठाएको छ ।

नेमकिपाबाट मध्यपुर थिमी नगरपालिकामा मेयरमा आशाहरि प्रजापति, उपमेयरमा दीक्षा बाडे श्रेष्ठ, चाँंगुनारायण नगरपालिकामा प्रमुखमा केशव तिमल्सिना, उपप्रमुखमा कल्पना लामालाई उठाएको छ । यस्तै उक्त पार्टीबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा श्याम बिसंखे र उपप्रमुखमा चनमति खुलिमुलीलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?