देशभर सबैभन्दा बढी चासो र चर्चाको रूपमा रहेको काठमाडौं महानगरपालिकामा यस पटकको स्थानीय निर्वाचन थप रोचक बन्ने भएको छ ।
निर्वाचन आयोगले दिएको समयसीमाअनुसार प्रमुख राजनीतिक दलसहित स्वतन्त्रको समेत उम्मेदवारी परेको छ ।
३० वैशाखमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् भने एमालेका तर्फबाट पूर्वमेयर समेत रहेका केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् ।
बेला–बेला विभिन्न कारणबाट चर्चामा आइरहने स्थापित यसअघि पनि मेयरको पद सम्हालिसकेका व्यक्ति हुन् भने कांग्रेसका विभिन्न भातृ संगठनमा काम गरेर आएकी नेतृ सिंह पार्टीका विभिन्न विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छिन् । सो कारण पनि काठमाडौं महानगरमा यस पटकको निर्वाचन थप रोचक बन्ने देखिएको छ ।
यसअघि २०५४ सालमा महानगरको मेयर बनेका स्थापितको चर्चा भइरहेको छ । बोलीका कारण बेला–बेला आलोचना र चर्चामा आइरहने उनलाई जनताले पुनः २५ वर्षपछि पत्याउने हुन् कि होइनन् भन्ने चासोको रूपमा हेरिएको छ ।
त्यसो त नेपाली राजनीतिक इतिहासमा अमिट छाप छोडेका गणेशमान सिंहकी बुहारी समेत रहेकी सिर्जना यस पटक काठमाडौंको मेयर बन्ने चर्चालाई विभिन्न कोणबाट समीक्षा गर्न थालिएको छ ।
पार्टीका विभिन्न भातृ संगठन हुँँदै राजनीतिमा सक्रिय रहेकी सिर्जना पछिल्ला केही दशकमा भने उनका श्रीमान् प्रकाशमान सिंहको मुख्य राजनीतिक सहयोगीको रूपमा काम गरिरहेकी थिइन् । भर्खरै सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएकी सिंह त्यसपछि भने थप सक्रिय हुन थालेकी हुन् ।
काठमाडौं महानगरमा महिलालाई मेयरको उम्मेदवार बनाएकोमा सबैतिरबाट उनको प्रशंसा भइरहेको छ भने सिंह परिवारबाट उनलाई अघि बढाइएको भन्दै आलोचना समेत भइरहेको छ । सोमबार दिउँसो राष्ट्रियसभा गृहमा मनोनयन दर्ता गर्दै गर्दा मेयरकी उम्मेदवार सिंहले आफ्नो संघर्ष र योगदानका कारण पार्टीले टिकट दिएको बताएकी छिन् ।
त्यस्तै विभिन्न काण्डका कारण चर्चामा आइरहने एमालेका उम्मेदवार स्थापितले विवादमा नआउने स्थापित नै हुन नसक्ने बताए।
यसअघिको निर्वाचनमा ठूलो मतान्तरसहित हार बेहोरेको कांग्रेसलाई यस पटक भने केही सहज देखिन्छ । गठबन्धनमा आबद्ध अन्य दलहरूको समेत साथ र समर्थन रहेका कारण एमालेसँगको प्रतिस्पर्धामा कांग्रेसलाई थप सहजता देखिन्छ ।
यस्तो छ सिंह र स्थापितको विगत
सिर्जना सिंह
राजनीतिक परिवारमा हुर्किएकी सिर्जना सिंहको पार्टीका विभिन्न भातृ संगठनमा बसेर काम गरेकी छिन् । नेपाली कांग्रेसका सर्वोच्च कमाण्डर गणेशमान सिंह तथा मंगलादेवी सिंहको बुहारी समेत रहेकी सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नी हुन् । तर उनको परिचय सिंह परिवारसँग जोडिएर मात्र राजनीतिक रूपमा बाहिर आएको भने पक्कै होइन ।
सिंह परिवारसँग साइनो जोडिनुभन्दा पहिले नै गोरखाको राजनीतिमा सक्रिय रहेकी सिर्जना २०३३ सालमा कांग्रेसको सदस्यता लिएर गोरखाको महिला संघकी सभापति बन्दै राजीतिमा थप अगाडि बढेकी हुन् ।
विद्यार्थी कालमा शंकरदेव क्याम्पस पढ्दा उनले नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन् । नेविसंघ महिला हुँदै राजनीतिमा खारिएकी सिर्जना पेसाले केही समय नर्सिङ काम पनि गरिन् ।
२०४२ सालमा गणेशमान सिंहको बुहारीको रूपमा चाक्सिबारीमा भित्रिएकी सिंह त्यसपछि प्रजातन्त्र स्थापनाका लागि हुने आन्दोलनहरूमा समेत सहभागी भएकी थिइन् । २०४६ सालको आन्दोलनको सबै छलफलको केन्द्र चाक्सिाबारी भएका कारण उनलाई राजनीतिमा थप बल पुगेको थियो ।
पछिल्लो केही वर्ष यता राजनीतिमा निष्क्रिय रहेकी सिर्जना आगामी केही समयदेखि मेयरको तयारीमा जुटेकी थिइन् ।
केशव स्थापित
काठमाडौं महानगरबाट मेयरको उम्मेदवार बनेका स्थापित २०५४ मा काठमाडौंबाट मेयर बनेका स्थापित हाल बागमती प्रदेशका सांसद रहेका थिए ।
अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने स्थापित हाल पार्टीको केन्द्रीय सदस्य समेत हुन् । यसअघिको निर्वाचनमा पनि मेयरको उम्मेदवारको रूपमा चर्चामा रहेका उनी बागमतीको मुख्यमन्त्री बनाउने चर्चापछि पछि हटेका थिए ।
पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनी त्यसबाहेक २०५१ देखि २०५२ सम्म राष्ट्रिय खेलकुद परिषद् नेपालको नवौँ सदस्यसचिव बने । २०६९ मा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएका उनी २०५४ मा मेयरको उम्मेदवार बनेपछि उनले ल्याएको ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा चर्चित बनेको थियो ।
राजाको प्रत्यक्ष शासनकालमा मेयर बनेका बखत उनले पशुपति क्षेत्र, माइतीघर, तीनकुनेलगायतका क्षेत्रमा निर्माण भएका अव्यस्थित घर–टहराहरू भत्काएर चर्चा र विवादमा समेत परेका थिए ।
बोलीका कारण बेला–बेला विवादमा आइरहने उनी बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा चर्चामा रहेका थिए तर आन्तरिक विवादपछि उनलाई मुख्यमन्त्री बन्नबाट रोकिएको थियो भने तत्कालीन डोरमणि पौडेल नेतृत्वको भौतिक पूर्वाधार मन्त्री बनेका उनी केही समयपछि बर्खास्त गरिएको थियो ।
त्यसैगरी काठमाडौं महानगरमा आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न क्षेत्रमा आबद्ध रहेकाहरूले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया