गोपाल किराँतीको पार्टीले दियो बहुपदीय प्रणालीलाई नै निरन्तरता (पूर्णपाठ)

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । 

राजधानीमा  पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको बताए ।  
उनले भने,‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालिन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।’

किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लीएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने,‘प्रचण्ड र बाबुराम अन्तीममा आएर पुँजीवादी गणतन्त्र तिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।’

अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग गरेका छन् ।  

मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको समेत जानकारी दिएको छ ।  
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्धारा जारी प्रेस विज्ञप्तीको पूर्णपाठ : 

***
प्रेस विज्ञप्ति
पत्रकार साथीहरु
महान जनयुद्धद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा माओवादी केन्द्र, महाधिवेशन आयोजक समितिका उपलब्ध सदस्यहरुको बैठक बसी निम्न निर्णय गरियो ।

खासगरी श्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले पार्टी परित्याग गरी गएको स्थितिले रुपान्तरण सहितको नेकपा माओवादी केन्द्रको निरन्तरता ऐतहासिक एवं वस्तसगत आवश्यकताको आधारमा बैठक बस्नु परेको स्पष्ट गर्दछौं ।

राष्ट्रियता, जनवाद र जनजिविकाबारे
 भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवाद र भारतीय विस्तारवाद विरुद्ध राष्ट्रिय प्रतिरोध क्रान्तिको तयारी गर्न आम जनसमुदायमा अभियान सञ्चालन गर्ने ।
1    भारतीय प्रधानमन्त्रीको भ्रमणको बहानामा नेपाली सुरक्षाकर्मीको अपमान गर्दै नेपाललाई भारतीय फौजको खेल मैदान बनाउने राष्ट्रिय अपराध गरेकोमा संसदवादी नेकपाको सरकारले सार्वजनिक माफी माग्नु पर्छ ।

2   प्रवेशाज्ञाको व्यवस्था अघि एक स्थानीय तहमा एक भन्सार नाका खुला गरी नेपाल–भारत सीमानामा अग्लो पर्खाल वा काँडेतारको व्यवस्था गर्नुपर्छ ।

3  विप्लव नेकपा विरुद्धका मुद्दाहरु सरकारले खारेज गर्नुपर्छ र विप्लल नेकपा वार्तामा आउनु पर्छ । विप्लव नेकपा नेताहरुलाई अनावश्यक धरपकड बन्द गर्नुपर्छ ।

4  प्रदेशहरुको नामाकरण गर्दा ऐतिहासक एवं सामुदायिक पहिचानको आधारमा गर्नुपर्छ ।

5   विनाशकारी भूकम्प गएको चौथो वर्ष लाग्दा समेत पीडितहरुले राहत पाएका छैनन् । समृद्धिको नारा दिने सरकारले प्रत्येक भूकम्प पीडीत परिवारलाई ५ लाख रुपैया राहत दिनु पर्छ ।

6   चरम महंगी विरुद्ध राष्ट्रिय संकटकाल घोषणा गरी श्रमिक तथा गरिब जनतालाई विशेष राहत उपलब्ध गराइयोस् ।

7.  किसानलाई विना भन्सार कृषि औजार खरिदको व्यवस्था गरियोस् । मल विउ, औषधी सहुलियत दरमा उपलब्ध गराइयोस् । ६० वर्ष पुगेका किसान र लगातार २० वर्ष व्यवासयिक खेती गर्ने किसानलाई मासिक ५ हजार पेन्सन व्यवस्था गरियोस् ।

8.  सीमाना रक्षा तथा भ्रष्ट्राचार र महंगी विरुद्ध अभियान सञ्चालन गर्ने ।
9.   तुरुन्त कानून बनाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा खाद्य सम्प्रभुताको संवैधानिक मौलिक अधिकार लागू गर्न संसद एवं सरकारलाई दवाव दिने ।
10.  गणतन्त्र स्थापनामा ऐतिहासिक योगदान गर्ने शहिद परिवार तथा पूर्व जनसेनाका कमरेडहरु प्रत्येकलाई १० हजार गणतन्त्र भत्ता उपलब्ध गराइयोस् ।
राजनीतिक तथा संगठनबारे ।
१)    बैठकका अध्यक्ष क. गोपाल किरातीद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम शीर्षक प्रतिवेदन छदलफल र थपघट सहित पारित गरियो । प्रतिवेदनको सारांशः
क)    माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिने ।
ख)    पार्टी एकताको १३ बुँदे पत्रका आधारमा खोज अनुसन्धानद्वारा आगामी महाधिवेशनबाट समाजवादी क्रान्तिको राजनीतिक कार्यनीति संश्लेषण गर्ने ।
ग)    वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपभोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने ।
घ)    सर्वहारा वर्गको अग्रदस्ता सुढुदीकरणको लागि पार्टी प्रमुख सहितको एक टोली सत्ता÷सरकारमा जानु हुँदैन । जानु पर्ने स्थिति उत्पन्न भएमा पार्टी प्रमुखबाट राजिनामा दिएर जानु पर्दछ ।
ङ)    क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको बृहत अभियान संचालन गर्ने ।
च)    पूँजीवादी गणतन्त्र स्थापनासम्म क्रान्तिकारी भूमिका खेलेका श्री प्रचण्डहरु त्यसपछि भने प्रतिक्रान्तिकारी कित्तामा पलायन भएको ठहर गरियो ।
२)    विचार, भावना र इतिहासको निरन्तरताका लागि संसदवादी नेकपाबाट विद्रोह गरी नेकपा माअ‍ोवादी केन्द्रमा जुट्ने क्रम उत्साहजनक छ । यसलाई अझ ब्यापक र सशसक्त तुल्याउँदै रुपान्तरण सहितको सगठन विस्तार र सुदृढीकरणमा डट्ने तीन अभियानको कार्ययोजना निर्माण गरियो ।
३)    महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई नै निरन्तरता दिइएको छ । जस अनुसार निम्न पदाधिकारी रहेको कार्यालय गठन गरियो ।
क)    अध्यक्ष     क. गोपाल किराती ‘साइला’
ख)    उपाध्यक्ष     क. भविश्वर पराजुली
ग)    उपाध्यक्ष     क तीलक थापा मगर
घ)    महासचिव    क. कर्णजीत बुढाथोकी ‘सुशील’
ङ)    सचिव    क. राजन तिम्सिना

४)    प्रेश ३ केन्द्रीय कार्यालय हेर्नेछ भने प्रदेश १ क. तिलक थापा, प्रदेश २ क. राजन तिम्सिना प्रदेश ४ र ५ को भविष्श्वर पराजुली तथा प्रदेश ६  ७ क. कर्णजीत बुढाथोकीले इन्चार्जसीप गर्ने ।
५)    अरु कार्य विभाजन विभिन्न समूहबाट धु्रवीकरणमा आउने कमरेडहरुको सन्तुलन हुने गरी ब्यापक गृहकार्यद्वारा कार्यालयले निर्णय र परिपत्र गर्नेछ । 
अन्त्यमा पत्रकार साथीहरु मार्फत आम जनसमुदायलाई आह्वान गर्दछौं कि नेकपा माअ‍ोवादी केन्द्रलाई सहयोग गर्नुहोस्, माओको निधनपछिको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र प्रचण्डहरुको पलायनपछि नेपाली कम्युनिष्ट आन्दोलनले उठाएका अहम प्रश्नहरुको जवाफ हामी खोजि निकाल्ने प्रतिज्ञा गर्दछौं । 
गोपाल किराती
अध्यक्ष
नेकपा माओवादी केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?