आज महावीरको २६२३औँ जन्मजयन्ती, जनकल्याणको बाटोमा लाग्न राष्ट्रपति पौडेलको आग्रह

लोकपथ
65
Shares

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीरको २६२३औँ जन्मजयन्ती आज जैन धर्मावलम्बीहरुले विविध कार्यक्रम गरी मनाइँदै छ । उक्त अवसरमा राष्ट्रपति पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए । राष्ट्रपति पौडेलले जनकल्याणको लागि महावीरले गरेको मार्गदर्शनलाई पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

‘महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु’ राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै  सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास समेत पौडेलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?