इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै

लोकपथ
78
Shares

काठमाडौं । देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । 

इद उल फित्रका अवसरमा आज मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

इद उल फित्रमा दीनदुःखी एवं गरिबलाई दान दिने, आज नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडासँग आशीर्वाद लिने दिने एवं आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खुवाउने चलन रहेको छ ।

रमदान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ । आज इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

आज काठमाडौंको जामे मस्जिद एवं देशका विभिन्न स्थानमा रहेका इदगाहमा धार्मिक ग्रन्थ कुरान पाठ गर्ने प्रचलन छ । इद उल फित्रका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतले इस्लाम समुदायमा शुख, शान्ति,प्रगती र संमृद्धिको कामना गर्दै धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?