फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र ।
काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आआफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन् । त्यसो त कांग्रेसले महाधिवेशनको नारा नै ‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔँ नेपाली कांग्रेसको महाधिवेशन’ भन्ने तय गरेको छ ।
हाँस्यरसले भरिएका घोचपेच पनि उस्तै चल्यो उद्घाटन शत्रमा । राजनीतिक दलप्रति जनतामा वितृष्णा फैलिएको चर्चादेखि एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको प्रसङ्ग पनि कांग्रेस महाधिवेशन उद्घाटन शत्रको अर्को आकर्षणको पाटो बन्यो ।
पुरानो लोकतान्त्रिक पार्टी भएको नाताले पनि कांग्रेसले नेपालका सबै जसो राजनीतिक दलसँग सहकार्य गरेको छ । प्रजातान्त्रिक समाजवादको नारामा कांग्रेसले विसं २००७ को आन्दोलनदेखि संविधान निर्माणसम्म आइपुग्दा राजनीतिक नेतृत्व गरेको तथ्य स्पष्ट नै छ । त्यसकारण पनि कांग्रेसको मञ्च अन्य राजनीतिक दलका लागि साझा जस्तै बन्न पुगेको छ ।
उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति, उनीहरूका धारणासँगै देशको पछिल्लो परिस्थितिले पनि पुनः सहमति, सहकार्य र एकताको विकल्प नभएकामा मतैक्य देखिन्थ्यो । झण्डै दुई तिहाई जनमत प्राप्त गरेको तत्कालीन नेकपा पूर्ववत् पार्टीका रुपमा विभक्त भएपछि बदलिएको राजनीतिक परिस्थितीले कांग्रेसलाई पुनः देशको नेतृत्व गर्ने स्थानमा पु¥याइदिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख पाँच राजनीतिक दलले गठबन्धन गरेर सहकार्यको संस्कृतिलाई अगाडि बढाएको सन्दर्भ पनि कांग्रेस महाधिवेशनमा मुखरित भएको छ ।
लामो समयसम्म एउटै मञ्चमा नदेखिएका नेकपा(एमाले)का अध्यक्ष ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति पनि अर्को महत्वपूर्ण दृश्यका रूपमा महाधिवशेनमा देखियो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर गरेको भलाकुसारी फोटो पत्रकारका लागि ‘एक्स्क्लुसिभ’ नै बनेको थियो ।
पटकपटक राजनीतिक परिवर्तन नभए पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन नआएको भन्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले यर्थाथता पेश गरे । महासचिव मैनालीको धारणाभन्दा अझै अगाडि बढेर राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले ‘चोर’ भन्ने गरेको तर्क गरे । उनले इतिहास भइसकेको राजतन्त्रको पुनःस्थापनाको पक्षमा धारणा राखेका थिए ।
लिङ्देनको तर्कप्रति तीन पूर्व प्रधानमन्त्रीले आपत्ति जनाए । एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लिङ्देनको भनाइलाई खण्डन गरे । ओलीले भने “नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ ? यस्ता कुरा बोकेर हिड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई ?” अध्यक्ष ओलीले थप अगाडि भने, “भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप हो । अलिक समयपछि ठिक आउला भन्ने मलाइ लाग्छ ।”
लोकतान्त्रिक आन्दोलनमा त्याग र सङ्घर्ष गरेका नेताको बदनाम गर्नुको पछाडि निरङ्क्ुशता जगाउने षड्यन्त्र रहेको भन्दै माओवादीका अध्यक्ष दाहालले नेतृत्वलाई खुइल्याउने प्रवृत्तिका विरुद्ध जुध्न आग्रह गरे । एकीकृत समाजवादीका अध्यक्ष नेपालले त नेपालको संविधानले सबैलाई राजनीतिक दल खोल्ने अधिकार दिएको भन्दै पूर्वराजालाई पनि पार्टी खोलेर राजनीति गर्न सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया