काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।
संस्थापन र इतर पक्षबाट नेताहरुले आ-आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।
यसै क्रममा सहमहामन्त्री सुनिलबहादुर थापाले आगामी महाधिवेशनका कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने चर्चा चलेको छ । थापा २०७७ साल साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीमा नियुक्त गरेका थिए ।
अरु नेताहरुले पदाधिकारी तथा सदस्यमा उम्मेदवारी घोषणा गरिरहँदा थापा भने कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् । सोही क्रममा उनलाई लोकपथले सम्पर्क गर्दा आफू छलफलमा नै रहेको जानकारी दिए ।
आज प्रदेश नं १ का नेताहरुसँग छलफल गर्ने र कसरी अघि बढ्ने भन्ने निर्णय लिने उनले बताए । आन्तरिक रुपमा छलफल गरिरहे पनि प्रदेशका नेताहरुसँग छलफल गरेर मात्रै उम्मेदवारीको बारेमा निर्णय गर्ने उनले बताए ।
‘कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक रुपमा छलफल त भइरहेको छ । कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा भने आज प्रदेश नं १ का नेताहरुसँग छलफल गर्दै छु । त्यसपश्चात् केमा उम्मेदवारी हुन्छ भन्ने निष्कर्ष निस्किनेछ’, उनले भने ।
कुन पदमा उम्मेदवारी दिने मनस्थितिमा हुनुहुन्छ भन्ने लोकपथको प्रश्नमा उनले पद भने खुलाउन चाहेनन् । तर पदाधिकारी नै लड्ने दाबी गरे । साथै त्यस विषयमा नेतृत्वसँग समेत छलफल गरेको जानकारी दिए ।
‘ठ्याक्कै के लड्ने भन्ने छलफलपछि थाहा हुन्छ । जे होस् पदाधिकारीमा मेरो दाबी रहन्छ । बाँकी कुरा छलफलपछि सार्वजनिक गर्नेछु’, उनले भने ।
केन्द्रीय कमिटीमा आउनका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पुग्नुपर्ने मान्यता हटेसँगै आफूलाई सजिलो भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया