पर्यटक बढाउन बेहडाबाबा मन्दिर व्यवस्थित गरिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिकस्थलका रुपमा पहिचान भएको बेहडाबाबा मन्दिरलाई थप व्यवस्थित गराउने प्रक्रिया अघि बढाइएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित सो मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय स्थल बनाउन व्यवस्थित गरिन लागेको हो ।

सो मन्दिरलाई व्यवस्थित गराउन काठमाडौंस्थित भिजिनरी डिजाइन्स प्राइभेट लिमिटेले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनका लागि धनगढी उपमहानगरपालिका र सो कम्पनिबीच बिहीबार सम्झौता गरिएको छ ।

काठमाडौंस्थित सुन्धारामा एक समारोहको आयोजना गरी धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड र कम्पनीका अध्यक्ष तपेन्द्रकुमार शाहीले हस्ताक्षर गरेर सम्झौता गरिएको थियो ।

कम्पनीका अध्यक्ष शाहीले मन्दिरमा रहेका पुरातात्विक सम्पदा र पूजापाठ गर्ने स्थललाई असर नपुर्याई मन्दिरलाई थप व्यवस्थित गरिने बताए ।

‘सुदूरपश्चिम र भारतीय धर्मावलम्बीहरुको धरोहर रहेको सो धार्मिकस्थलमा थप पुरातात्विक सम्पदा थप गरिनेछ’, उनले भने, ‘त्यहाँ अब चारवटा मूल ढोका राखिनेछ भने बाउन्डरी वाल, मूर्ति राख्नेलगायतका काम गरिनेछ ।’ उनका अनुसार भगवान शिवको मूर्ति स्थापना गरी एक सय आठ धारा स्नानका लागि बनाइनेछ ।

अहिलेसम्म प्रदेश र भारतका केही स्थानको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको सो मन्दिरमा नयाँ संरचना निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण बिन्दु बनाइने उनले बताए ।

सो अवसरमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले धनगढीमा रहेको शिवपुरी धाम, जाखोरताल, वेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाई उपमहानगरपालिकालाई धार्मिक तथा पर्यटकको आकर्षणको बिन्दु बनाइने बताए ।

‘हामीले पर्यटकीय क्षेत्रमा पर्यटन भित्र्याउन हरसम्भव प्रयास गरिरहेका छौं’, उनले भने, ‘वेहडाबाबा मन्दिरलाई व्यवस्थि तगर्न उपमहानगरपालिकासँग लगानी गर्न अभाव छैन ।’
उनले सम्बन्धित कम्पनीले छिटै योजना अघि बढाई कामको प्रारम्भ गर्नुपर्ने बताए ।
बेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाइएमा उपमहानगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?