सर्वोच्च अदालत परिसरमा आज पनि प्रर्दशन

लोकपथ
7
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘परिवारबाट नै विचौलियाको संरक्षण गर्ने काम भइरहेको छ, चोलेन्द्र शमशेर जबराबाट । यो चोलेन्द्र शमशेर जबराको विचौलिया पनलाई रोक्नका लागि विचौलिया रोक्ने संयन्त्र बनाउनको लागि पनि प्रतिवेदन दिएका छन् । तर उनी विचौलिया रोक्नको लागि तयार छैनन् । भ्रष्टाचार रोक्नको लागि तयार छैनन् । विसंगति रोक्नको लागि तयार छैनन् । बरु झाँगिन तयार भएको हुनाले राजीनामाको साथसाथै संविधान, कानून र नैतिकताको आधारमा उहाँलाई बहिर्गमन गराउनको लागि हामीले धेरै पहल गरिरहेका छौँ । हामीले जसलाई भेट्यौँ उहाँहरुले चोलेन्द्र समशेरलाई निकाल्नु पर्ने कुरा भन्नुभएको छ । न्यायालयमा स्वच्छता भएन भन्ने कुरा गर्नुभएको छ ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताए । उनले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताए । उनले अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने बताए ।

वरिष्ठ अधिवक्ता उप्रेतीले भने, ‘मलाई लाग्छ संसारको कुनै पनि देशको मुद्दाको पेशी पनि तोक्न नपाउने, मुद्दा हेर्न पनि नपाउने अरु सहयात्री न्यायाधीशहरुसँग बस्न पनि नपाउने, फैसला गर्न पनि नपाउने भएर बस्ने पनि दुनियाँमा प्रधानन्यायाधीश हुन्छ । यो प्रधानन्यायाधीश एउटा मूर्ति बसेको खालको मात्रै हो । न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्छ । जसले प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेको छैन । जसको पृष्ठभूमि यति विवादास्पद भइसकेको छ, सम्पूर्ण विचार बोक्ने, सम्पूर्ण आस्था भएका कानून व्यवसायीहरुको साझा संगठन नेपाल बार एशोसिएशनले आज यति लामो आन्दोलन गरिरहेको छ । विश्वको कुनै पनि प्रधानन्यायाधीशले यस्तो कुरा बोक्नु परेको छैन । यस्ता प्रधानन्यायाधीशलाई सरकारले गाडीको सुविधा किन दिइरहेको छ ? त्यो सुविधा खोस्नुप¥यो । सवारी सुविधा किन दिइरहेको छ, सेक्युरिटी किन दिइरहेको छ ? के का लागि चाहियो सेक्युरिटी ? सरकारलाई म भन्न चाहन्छु, आजकै मितिबाट तुरुन्तै सवारीसाधन खोसियोस्, सुरक्षाकर्मी पनि खोसिउन्, उनलाई अब सुरक्षाकर्मी र सवारीसाधन दिनुपर्ने आवश्यक्ता छैन । उनले प्रधानन्यायाधीशको भुमिका निर्वाह गर्न सक्दैनन् भने त्यस्ता मान्छेले त्यो सुविधा उपभोग गरेर बस्नुपर्ने अवस्था छैन ।’

वरिष्ट अधिवक्ता उप्रेतीले पदीय आचरण अनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दवाब दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?