फेरियो प्रचार शैली: नेतालाई चुनावजस्तै कलाकारलाई फिल्मको रिलिज

काठमाडौं । केही दिनअघि फिल्म मनाङे नानी, लम्फू र हिरोज रिलिज भए । यीमध्ये चलचित्र ‘लम्फू’ ले मात्र बिसेक चर्चा पायो । अरु दुई फिल्म आए, गए ।

रिलिजअघि चलचित्र ‘डमरुको डन्डीबियो’ ले टुँडिखेलमा ठ्याक लगायो । तर, यो फिल्मले पनि हलमा खासै ठ्याक लगाउन सकेन । दर्शक तान्नका लागि सामाजिक सञ्जाल फेसबूकमा पनि प्रोमोट गरेर प्रचार गरिएको थियो ।

अझ अर्को फिल्म ‘ह्याप्पी डेज’ ले त झन् रथ यात्रा नै ग–यो । रथ यात्रामा चर्चामा आइरहने नायिका प्रियंका कार्की सवार थिइन् । दर्शकको ध्यान तान्न गरिएको यो फन्डाले पनि खासै काम गर्न सकेन । ह्याप्पी डेजले दर्शकलाई अनह्याप्पी बनाइदियो । मतलब, फिल्म फ्लप भयो ।

त्यसभन्दा अघि रिलिजमा आएको चलचित्र ‘लिलिबिली’ को प्रचारका लागि देशका मुख्य शहरमा कन्सर्टहरु भए । फिल्म ठिकठाक चल्यो पनि ।

‘शत्रु गते’ ले पनि आफ्नो फिल्मको प्रचारलाई उत्तिकै दबाबका साथ सँगै लगेको थियो । फिल्म टिम नेपालका विभिन्न शहरमा पुग्यो । फिल्मको कास्ट एण्ड क्रुले दर्शकको ध्यान आफूतिर खिच्न सफल भए ।

फिल्म चल्यो, प्रचार उपलब्धिमूलक नै मानौं ।

यसरी प्रचारमा उत्रिने शैली अहिले चल्तीका कलाकारका लागि ‘ट्रेन्ड’ जस्तै बनिसकेको छ । केकी अधिकारीले ‘कोहलपुर एक्सप्रेस’ का लागि काठमाडौंमा प्रचारका अनेक तरिका अपनाइन् । उनको स्कुटरमा खाजा बोक्दै, पु–याउँदै समेत गरिन् तर यो ट्रिकले पनि खासै काइदा गर्न सकेन फिल्मलाई ।

अहिले यही शैलीमा देखिएकी छिन् नायिका तथा निर्मात्री ऋचा शर्मा । उनले फिल्मको प्रचारका लागि यात्रुलाई लिफ्ट दिइन् ।

केही वर्षअघि जाऔं – फिल्म आउँदैछ भनेर मिडियामा समाचार आउँथ्यो, अझ त्योभन्दा प्रभावकारी माध्यम थियो सिनेमा घरमा र शहरका भित्तामा टाँसिएका पोस्टर । यिनै पोस्टरका माध्यमबाट दर्शकले फिल्मको विज्ञापन पाउँथे ।

मनोरञ्जनको गतिलो माध्यम बन्ने गर्थे सिनेमा । तर अहिले युग फरक भएको छ । प्रविधिले फिल्मको स्तर मात्र बढाएको छैन, गुणस्तर र पहुँचले पनि निकै फड्को मारिसकेको छ । पहुँचकै कारण नेपाली फिल्मले अहिले घरेलु फिल्मसँग मात्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेन ।

विदेशी फिल्मले नेपालबाट करौडौं लगिरहेको छ । तर विदेशबाट नेपाली फिल्मले करोडौं भित्राउनु अहिलेका लागि असम्भव जस्तै भएको छ ।

भलै फिल्मको बजार र सिनेमाघरको संख्या भने बढ्दो क्रममा छ । फिल्मको बजार केही फराकिलो बन्दैछ ।

हप्तैपिच्छे रिलिज हुने नेपाली फिल्मले व्यापार राम्रो गर्न सकेका छैनन् । रिलिज हुने फिल्ममध्ये औंलामा गन्न सकिने केही फिल्मले मात्र बजारबाट पैसा उठाउँछन्, त्यो बाहेक अरु फिल्म जुवा खेलेझैं खेलिन्छन् । हारिन्छन् ।

नेपाली फिल्मको भीडमा कति फिल्म छन्, जो बन्छन्, हलमा रिलिज हुन्छन् र गुपचुप निस्किन्छन् । अर्का एक खाले फिल्म रिलिज अगाडिसम्म राम्रै चर्चामा हुन्छन् । प्रचारमा खुलेरै लाग्छन् । 

फिल्म बनिसकेपछि रिस्क लिएर प्रचार गरिने फिल्मले पनि व्यापार राम्रो गर्छन् भन्ने छैन तर गुमनाम हुने फिल्मको तुलनामा यी फिल्मको चर्चा गतिलै हुने गरेको छ । व्यापारिक पाटो अर्को पक्ष भयो ।

फिल्म ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मा खुलेरै प्रचार गरेका सन्तोष सेनले प्रचार महत्त्वपूर्ण रहेको बताउँछन् । ‘फिल्म राम्रो बनाइसकेपछि दर्शकलाई थाहा दिनैपर्छ, यदि हामीले दर्शकलाई हलसम्म आउन इच्छुक बनाएनौं भने जति राम्रो फिल्म बनाए पनि ओझेलमा पर्न सक्छ’, सेन भन्छन्, ‘प्रचार गरिसकेपछि फिल्म पनि राम्रो हुनुपर्छ, होइन भने प्रचारको खर्च उठाउन निकै गाह्रो पर्छ ।’

फिल्म बनाइसकेपछि आफूसमेत प्रचारमा खटिएर लाग्ने गरेको उनी बताउँछन् । 

फिल्म ‘सुनकेशरी’ रिलिज हुनै लाग्दा प्रचारमा जुटेकी ऋचा शर्माले ‘आधा लभ’ को खासै प्रचार गरेकी थिइनन् । फिल्मले आशातीत व्यापार गर्न सकेन, ‘सुनकेशरी’ मा उनी दर्शक तान्ने प्रयासमा जुटेकी छिन् । ‘अहिलेका दर्शक एकदमै चलाख भइसक्नुभएको छ, हामीले हलसम्म दर्शक तान्नकै लागि भएपनि फिल्मको प्रचार गर्नैपर्ने हुन्छ, मिडियाका माध्यमबाट मात्र भन्दा पनि प्रत्यक्ष भेट्दा दर्शकसँगको सम्बन्ध नजिक हुन्छ’, ऋचा स्कुटरमा यात्रुलाई लिफ्ट दिनुको कारण खुलाउँदै भन्छिन्, ‘दर्शकसँग नजिक पनि जोडिइने, फिल्मको पनि प्रचार हुने ।’

तर, खुलेरै प्रचारमा लागेर पनि फ्लप भएका कैयन् फिल्मले प्रचारको लगानी समेत उठाउन सकेका छैनन् । खासगरी विदेशी फिल्म हेर्ने दर्शकलाई नेपाली फिल्म हेर्ने वातावरण बनाउन प्रचारको त महत्त्व छ नै । तर, फिल्म राम्रो बनायो भने प्रचार आफै हुन्छ भन्ने कुरा निर्माता तथा निर्देशकले बुझ्न समय लागेको छ ।

राम्रो फिल्म र बाक्लो प्रचार भयो भने फिल्मको व्यापार आक्रामक हुन्छ भन्ने कुरा केही फिल्मले वर्षेनी प्रमाणित गरिरहेका हुन्छन् । फिल्मको भीडमा केही चलचित्र भने प्रचारमा मात्र सीमित हुन्छन्, तर हलसम्म दर्शक तान्न भने सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?