‘देउवा र पौडेलेको नेतृत्वले पार्टी चल्न सक्दैन’

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् ।

उनले कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताए ।

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’

कांग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको बताए । सिंहले आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको बताए ।

क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गरे । ‘बेथितीबाट काँग्रेस र देश चल्दैन,’ सिंहले भने,‘ पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्, भविष्य हेर्नुहोस् । छोरानाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । कांग्रेस बचाउनुहोस् ।’

कांग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क गरे । कांग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको बताए । उनले भने,‘कांग्रेस कमजोर भए कम्युनिस्टहरुले लोकतन्त्र नै फालिदिन्छन् ।’

त्यस्तै नेपाली कांग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको स्मरण गराउँदै देशलाई समृद्ध बनाउने भूमिका पनि कांग्रेसले निभाउने बताए । विगतमा कम्युनिस्टहरुले नसकेपछि कांग्रेसको नेतृत्वको सरकारको पालामा संविधान जारी भएको बताए ।

दुई तिहाई मत पाउँदा पनि ओली सरकार टिक्न नसकेको बताउँदै भने,‘कम्युनिस्टहरुले राजनीतिक स्थायित्व दिन सक्दैनन् भन्ने प्रमाण हो यो ।’ ओली सरकारको पालामा कम्युनिस्टहरुभित्रै भ्रष्टाचारको प्रतिष्पर्धा बढेको बताए । उनले भने,‘भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दा गर्दै सरकार ढलेको हो ।’

ओलीलाई हावादारी गफमा कसैले जित्न नसक्ने बताए । कम्युनिस्टहरुको लह लहैमा लाग्दा देश समस्यामा फसेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?