काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघेको छ । असोज मसान्तसम्ममा बैंकको कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । असार मसान्तमा बैंकको कुल सम्पत्ति ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको कुल सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा विदेशी मुद्राको रहेको छ । असार मसान्तमा ३७ खर्ब ३० अर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सम्पत्ति बढेर असोज मसान्तमा ३९ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको लगानी २८ खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । विदेशी बैंकमा राखिएको मुद्दती निक्षेप पनि ६ खर्ब ४९ अर्ब रुपैयाँ नाघेको छ ।
वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको नोटको मात्रा ८ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो रकम करिब ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ थियो ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ र सरकारको निक्षेप २ खर्ब ७३ अर्ब ९६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
असोज मसान्तसम्म राष्ट्र बैंकको कुल स्थानीय मुद्रा दायित्व २९ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । स्थानीय मुद्रा सम्पत्ति १ खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने विदेशी मुद्रा दायित्व ४९ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया