काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रणतर्फ ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महाशाखाका अनुसार पहिलो त्रैमासका लागि ६२ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याइएकोमा १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । यो त्रैमासिक बजेटको २३.४ प्रतिशत हो ।
बजेट खर्चको तुलनामा भौतिक प्रगति भने बढी देखिएको छ । पहिलो त्रैमासमा निर्धारित लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको महाशाखाले जनाएको छ । यस अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण गर्नुका साथै एक हेक्टर जग्गा उकास गरिएको महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार केही आयोजनाले भने निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति हासिल गरेका छन् ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको छ ।
यसैगरी लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।
महाशाखाका अनुसार नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने क्रममा विभिन्न आयोजनाले आफ्नो लक्ष्यअनुसार काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया