काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई भोलि बिहीबार स्वदेश फर्कँदै छन् ।
यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए। प्रधानमन्त्री नेतृत्वको टोली आज स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै भोलि बिहान काडमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहनुभएकाले उनीबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन् ।
स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए । पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।
प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया