बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग

RSS
7
Shares

डोटी । डोटीको सायल गाउँपालिकाका बाढी पहिरो पीडितलाई मंगलबार राहत रकम वितरण गरिएको छ ।

गत असोज ३१ गते देखिको लगातारको वर्षासँगै आएको बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।

बाढी पहिरोमा ज्यान गुमाएका प्रतिपरिवारलाई २ लाख रुपैयाँका दरले पीडितकै घरमा गएर राहत रकम हस्तान्तरण गरिएको उनले बताए । ‘बाढी पहिरोमा परी अकालमै ज्यान गुमाएका परिवारलाई राहत दिने सरकारको निर्णयानुसारको रकम आज मैले सम्बन्धित पीडितकै घरमा गएर हस्तान्तरण गरेको छु्’, उनले भने । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण कार्य जारी रहेको पनि उनले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्मा गाउँका जंग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका आफन्तलाई नेपाल सरकारका तर्फबाट २ लाख रुपैयाँका दरले र वडा नं ६ अम्ततोडा गाउँका मृतक आशीष कुञ्जेडा र सागर कुञ्जेडाका बुबा दिलबहादुर कुञ्जेडालाई ३ लाख रुपैयाँ राहत हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल, उपाध्यक्ष विष्ना सिंह, प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्ल, विपद् प्रभावित परिवारका सदस्य र अन्य सर्वसाधारणको उपस्थितिमा उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका तर्फबाट पीडितका लागि खाने पकाउने भाँडाकुँडा, कम्बल तथा लुगाकपडा प्रदान गरिएको थियो । उता जिल्लाको शिखर नगरपालिका–११ का बाढी पहिरोबाट मृतक मन्धरी बलायरका आफन्त, बोगटान गाउँपालिका–५ बस्ने मृतक चनरी नेपालीका पति इन्द्र नेपालीलाई समेत सरकारी राहत रकमको चेक हस्तान्तरण गरिएको छ ।

जिल्लामा बाढी पहिरोबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका छन् । अहिलेसम्म कम्तीमा पनि एक करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?