काठमाडौं । राजवीर मानन्धर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को ब्वाइज यु – १४ तर्फको उपाधि उचाल्न सफल भएका छन् ।
आइतबार भएको सेमिफाइनलमा मानन्धरले आयुश्मान हजुर घलेलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम कोर्न सफल भएका हुन् । तर उनी युगलतर्फ भने सेमिफाइनलमा पराजित भएका छन् । युगलतर्फ प्रनभ महर्जनलाई जोडी बनाएर प्रतिस्पर्धामा उत्रेका उनी दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई वाक ओभर प्रदान गर्दै सेमिफानमा नै यात्रा टुङ्गयाउन बाध्य भए ।
गणेशमान सिंह फाउण्डेसनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाइज १२ तर्फ दर्शिल श्रेष्ठले उपाधि उचाले । उनले बोरिस अधिकारीलाई ७–५, ६–२ ले पराजित गर्न सफल भएका हुन् । यस्तै सोही उमेर समूहको छात्रातर्फ समृद्धि महर्जनले जित हात पारिन् । महर्जनले फाइनलमा शिभाली गुरुङ्गलाई ६–३, ७–५ ले पाखा लगाउँदै जितलाई आत्मसात् गरेकी हुन् ।
छात्र यु १० तर्फको प्रतिस्पर्धामा आशभ सम्राट हाडाले बाजी मारे । उनले फाइनलमा स्पन्दन उदासलाई ७–६, ६–३, ११–९ को कठिन जितका साथ उपाधि चुमे ।
सातदोवाटोस्थित टेनिस कोर्टमा भएको जुनियर तर्फको अन्य खेलमा छात्रा यु – १४ तर्फ सुनिरा थापा र आद्या पौडेल उपाधि निकट पुगेका छन् । सुनिराले जेनी खड्कालाई ६–४, ६–१ ले पराजित गर्दै उपाधिका लागि पौडेलसँगको भेट पक्का गरेकी हुन् । पौडेलले प्रशंस मोक्तानलाई ६–३, ६–३ को सेटमा पराजित गरिन् ।
यस्तै छात्रतर्फ यु – १४ तर्फ आयुश्मान हजुर घले र सक्षम श्रेष्ठको जोडी तथा दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडी फाइनल प्रवेश गरेका छन् । घले र श्रेष्ठको जोडीले स्लोक खड्का र श्रीयोग आचार्यको जोडीलाई ६–१, ६–१ को सेटमा तथा दर्शिल र श्रीजनको जोडी राजवीर मानन्धर र प्रनभ महर्जनको जोडीबाट वाक ओभर प्राप्त गर्दै फाइनल प्रवेश गरेका हुन् ।
यस्तै यसै उमेरसमूहको छात्रा युगलतर्फ आध्या पौडेल र समृद्धि महर्जनको जोडीले फाइनलमा स्थान बनायो । पौडेल र महर्जनको जोडीले मालाश्री श्रेष्ठ र कृषाको जोडीलाई ६–२, ६–२को समान अन्तरले पराजित गरेका हुन् ।
यसैगरी सुनिरा थापा र प्रशंसा महर्जनको जोडीले पनि फाइनल यात्रा तय गरे । थापा र महर्जनको जोडीले जेन्नी खड्का र कर्मिष्ठा एन। एसको जोडीलाई ६–२, ६–२ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
सिनियरतर्फको प्रतिस्पर्धामा पुरुष युगलतर्फ निहाल जंग बहादुर थापा र अकी राउतको जोडी तथा प्रदीप खड्का र अनिल शाहीको जोडी फाइनल प्रवेश गरेका छन् । थापा र राउतको जोडीले प्रनभ खनाल र जितेन्द्रको जोडीलाई ६–४, ६–३ ले तथा खड्का र शाहीको जोडीले ऋतिक राणा र नविन पाइजाको जोडीलाइ २–६, ६–१, ११–९ को कठिन जितका साथ उपाधि भिडन्त पक्का गरेका हुन् ।
यस्तै महिला युगलतर्फ प्रेरणा कोइरालाल र सलोनी तामाको जोडी तथा अभिलाषा बिष्ट र इरा एम। राउतको जोडी उपाधि निकट पुगेका छन् । प्रेरणा र सलोनीको जोडीले रयना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले तथा अभिलाषा र इराको जोडीले अज्जा रेग्मी र इभा अधिकारीको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।
पुरुष ३५ वर्षमाथिको एकल स्पर्धामा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्ग फाइनल प्रवेश गरेका छन् । भण्डारीले भीष्मजंग गुरुङलाई ६–२, ६–२ ले पराजित गर्दै फाइनलमा सिमान्तसँगको भेट पक्का गरेका हुन् । सिमान्तले सुभाष बस्नेतलाई ६–०, ६–१ ले पन्छाए ।
पुरुष ४५ वर्षमाथिको स्पर्धामा सिजर गुरुङ र विमल कुमार गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिजरले रोहित सुनुवारलाई ६–३, ६–१ ले तथा विमलले सुकमान तामाङलाई ६–३, ६–४ ले पराजित गरे ।
पुरुष ५५ वर्षमाथिको स्पर्धामा कमल थापाले सागर केसीलाई ६–०, ६–० ले पराजित गर्दै उपाधिका लागि विमलकुमार गुरुङ संगको भेट पक्का गरेका हुन् । विमलले ध्रुव गुरुङबाट रिटायर्ड हर्टको आधारमा जित निकाले । २–० को अवस्थामा ध्रुव रिटायर्ड हर्ट भएका थिए ।
पुरुष ३५ वर्षमाथिको युगलतर्फ निरज थापा र लोक गुरुको जोडी क्वाटरफाइनल प्रवेश गरेको छ । निरज र लोकको जोडीले निलम लामा र श्याम जिसीको जोडीलाई ६–७, ६–३, ११–९ ले पराजित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया