मीन विश्वकर्मा राजनीतिकर्मी हुन् । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष छन् ।
राजनीतिमा लागे पनि उनी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन आफ्नो घर नै पुग्छन् । २०२४ चैत्र १६ मा भोजपुरको टक्सार–९ मा जन्मिएका विश्वकर्मा अहिले भने भोजपुरबाट सुनसरीको धरान झरेका छन् ।
दशैँ, तिहारलगायतका चाडपर्व बाल्यकालमा बढी रमाइलो हुने उनको अनुभव छ । समयको गतिसँगै आफ्नो व्यस्ता पनि बढेकोले बाल्यकालजस्तो रमाइलो नभए पनि अहिले पनि चाडपर्व भनेपछि अर्कै आनन्द र शक्ति प्राप्त हुने बताउँछन्, उनी ।
धर्मकर्ममा निकै विश्वास गर्ने उनी परिवारका कान्छा छोरा हुन् ।
आफ्ना बुबा र दाजुहरूले त्यतिबेला धरानमा व्यापार व्यवसाय गरेर दशैँमा घर फर्किँदा कस्तो लुगा ल्याइदिन्छन्, अरु के–के ल्याइदिन्छन्, छिमेकमा आफ्ना सन्तानलाई के–के ल्याइदिए भन्ने कुतूहलता उनमा हुन्थ्यो ।
बाल्यकालको दशैँको सम्झना उनलाई अझै पनि ताजा लाग्छ । दशैँका बेलामा लामो समय विद्यालय बन्द हुने, त्यसपछि घरआँगन सफा गर्ने, नयाँ बाटो बनाउने, बर्खामा उम्रेका झार उखेल्ने, पिङ हाल्ने, नयाँ लुगा लगाउनेजस्ता कुराले मनै फुरुङग हुन्थ्यो ।
‘मेरो बुबा परिवारको जेठो भएकाले बुबा जेठो भएकाले दशैँको टीकाको दिन टीका लगाउनेको भीड हुन्थ्यो । पुराण र सप्ताहजस्तो देवकार्य गर्दाको जस्तै भीड हुन्थ्यो’, उनले भने ।
तर व्यवहार र जिम्मेवारीले थिच्दै गएपछि भने त्यतिबेला मानिसको मस्तिष्क रमाइलोभन्दा जिम्मेवारीतिर जाने विश्वकर्माको अनुभव छ ।
विश्वकर्माको अनुभवमा अहिले दशैँ भड्किलो त बनेको छ नै आधुनिकताको नाममा विकृति पनि देखा पर्न थालेको छ । दशैँ हुनेले मात्र नभएर सबैले मनाउन सक्ने किसिमको बनाउन सक्नुपर्छ भन्ने उनको विचार छ ।
बाँकी भिडियोमा :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया