घरको चौथो तलबाट खसेर वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु

लोकपथ
574
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीको घरको चौथो तलबाट खसेर मृत्यु भएको छ ।

निगमका पूर्वअध्यक्ष चतुर्वेदीको काठमाडौंको चाबहिलस्थित निर्माणाधीन घरबाट खसेर मृत्यु भएको हो । चतुर्वेदी बिहीबार बिहान निर्माणाधीन घरको चौथो तलबाट खसेका हुन् । चतुर्वेदीले घरको चौथो तलबाट हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार उनको मोबाइल घरको चौथो तलामा फेला परेको छ । उनी काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित बुलबुलेमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको शव आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरमा फेला परेको हो  । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लागिएको प्रहरीले जनाएको छ ।

उनी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पती आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?