दशैँ लगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

लोकपथ
245
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए ।

फागुनसम्ममा क्रमश : खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनले बताए । उनले भने, ‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक-पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । र क्रमिक रुपमा देशभरि खोप लगाइने जानकारी गराउन चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।

सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाइ छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए ।

एक कार्यक्रमका बीच बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउन्डेसनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिदैँ पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउन्डेसनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताए ।

फाउन्डेसनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँबराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?