एमालेको नियत : सर्वदलीय बैठक बहिस्कार, संसदमा निरन्तर अवरोध

लोकपथ
91
Shares

काठमाडौं । सर्वदलीय बैठकमा उपस्थित नभएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ ।

गत भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गतका बैठकहरुमा निरन्तर अवरोध गरिरहेको छ ।

बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् ।

सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषयमाथि संसदहरुको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरिएको बताए पनि प्रमुख प्रतिपक्ष दलले नाराबाजी जारी राख्दै स्ंसद अवरोध गरेको हो ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घका प्रावधानहरु सबै सांसदहरुले पालना गर्न अनुरोध गरेका थिए । एमाले सांसदहरुको विरोधकाबीच उनले राष्ट्रपतिको कार्यालयबाट अध्यादेश खारेज र विधेयकहरु प्रमाणीकरण भएको कुरा जानकारी गराए ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरेका थिए।

एमालेको अवरोधका कारण जनताको जीवनसँग जोडिएका विधेयकहरु समेत प्रभावित परिरहेको सभामुख सापकोटाले जानकारी गराए । यसअघिका बैठकहरुमा पनि सभामुख सापकोटाले संसदीय नियमावलीहरुका आधारमा आफूले काम गरिरहेको बताए पनि नाराबाजीलाई निरन्तरता दिइरह्यो ।

एमाले केही बैठकहरुमा आक्रामक रुपमा देखिएको थियो । सभामुख र मन्त्रीहरुलाई समेत आक्रमण गर्ने दाउमा देखिएका सांसदहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि भने अलि शान्त देखिएको थियो ।

संसदमा अवरोध गरिरहेको एमालेलाई वार्तामा ल्याउन भन्दै सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक आह्वान गरे । तर सभामुखविरुद्ध नारा लगाइरहेको एमालेले उक्त बैठक बहिस्कार गर्यो ।

त्यसपछिका बैठकहरुमा समेत निरन्तर नाराबाजी गरिरहेको एमालेलाई सहमतीमा ल्याउन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) का लागि सर्वदलीय बैठक बोलाए । तर आजको बैठकमा समेत कुनै आधिकारिक जानकारी समेत नगराई एमालेले बैठकमा उपस्थित भएन ।

बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी बैठकहरुमा एमालेलाई समेत वार्तामा ल्याउने प्रयास गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेको बताए ।

आफ्ना मागहरुका बारेमा छलफल गर्न सर्वदलीय बैठकमा उपस्थित नहुने र संसदमा पनि निरन्तर अवरोध समेत गरिरहने हो भने संसदको अवधी अन्त्य नहोला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?