काठमाडौं। यूएस ओपन २०२१ अन्तर्गत महिला सिंगल विधातर्फ १८ वर्षीया एम्मा राडुकानुले ग्रान्ड सल्याम उपाधि जितेकी छिन्।
आईतवार बिहान न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा खेलिएको फाइनल खेलमा ग्रेट ब्रिटेनकी राडुकानुले १९ वर्षीया क्यानडाकी लेला फर्नान्डेजलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गर्दै आफ्नो करियरको पहिलो ग्रान्ड सल्याम उपाधि जित्न सफल भएकी हुन्। क्वालिफायरमार्फत यूएस ओपनमा प्रतिस्पर्धा गरेकी एम्माले प्रतियोगिता भरी एउटा पनि सेटमा पराजय भोगिनन्।

राडुकानुको जितमा इतिहास रचिएको छ। मात्र तीन महिना अगाडि व्यावसायिक टेनिसमा पाइला टेकेकी एम्माले अहिलेसम्म टुर लेभलको थ्री सेट खेल नै खेलेकी छैनन्। उनले अहिलेसम्म डब्लुटीए टुरमा एक खेल पनि जितेकी छैनन्।
यद्यपि केही खेलाडीले अकल्पनीय प्रदर्शनी देखाउने गर्छन् र सोही गर्न सफल भएकी छिन् राडुकानु। तीन साता अगाडि क्वालिफायरमार्फत यूएस ओपनमा सहभागी भएकी एम्माले प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गरिन्। राडुकानुको यो मात्र दोस्रो ग्रान्ड स्ल्याम सहभागिता थियो र इतिहासमै कुनै पनि महिलाले यति थोरै सहभागितामा ग्रान्ड स्ल्याम उपाधि उचालेका थिएनन्।

राडुकानुले रचेकी कीर्तिमानको सूची लामो छ। उनी सन् १९७७ पछि ग्रान्ड स्ल्याम जित्ने पहिलो ब्रिटिश महिला खेलाडी हुन्। त्यस बेला भर्जिनिया वेडले विम्बेल्डन उपाधि जितेकी थिइन्। त्यस्तै उनी महिला र पुरुष दुवै विधामा क्वालिफायरबाट सहभागी भएर उपाधि नै उचाल्ने पहिलो खेलाडी समेत बन्न पुगेकी छिन्।
त्यस्तै १८ वर्षको उमेरमा नै ग्रान्ड स्ल्याम उपाधि उचाल्ने उनी सन् २००४ पछिकै पहिलो महिला खेलाडी पनि हुन सफल भएकी छिन्। त्यस बेला टेनिस सुपरस्टार मारिया शारपोभाले ग्रान्ड स्ल्याम जितेकी थिइन्।

आईतवार खेलिएको फाइनल खेलमा दुवै प्रतिस्पर्धी २० वर्ष भन्दा कम उमेरका थिए। पछिल्लो पटक यस्तो २२ वर्ष अगाडि भएको थियो। एम्माले सुरुवात देखि नै निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेकी थिइन्।
खेलको सुरुवातदेखि नै बलको दिशा परिवर्तन तथा ब्याक ह्यान्ड शट प्रहार गर्दै आफ्नो बलियो आत्मविश्वासको प्रदर्शन गरेकी एम्माले खेलको अन्त्यसम्म नै सोही स्तरको प्रदर्शन देखाइन्। प्रतियोगिता भरी एउटा पनि सेट नागुमाउनु भनेको चानचुने कुरा होइन, र १८ वर्षीया एम्माले त्यो गर्दा संसार नै उनको टेनिसको प्रशंसक भएको छ।

तीन महिना अगाडि विश्व वरियतामा ३६६औं तथा बेलायतमा १२औं स्थानमा रहेकी राडुकानु आज विश्व वरीयतामा २३औं स्थानमा उक्लिन सफल भएकी छिन्। तीन साता अगाडिसम्म कुनै पनि प्रतियोगिता नजितेकी एम्माले आज २५ लाख अमेरिकी डलर जितेकी छिन्। यति छोटो समयमा नै यो स्तरको प्रदर्शन गर्न सफल एम्माको भविष्य निकै उज्वल देखिन्छ।
तीन साता अगाडि एम्मा बेलायतबाट न्यू योर्क आउँदा र आजको परिस्थितिमा निकै ठूलो परिवर्तन आएको छ। उनको स्वदेश फर्किने टिकेट समेत त्यसै बेला काटिएको थियो। क्वालिफायर खेलको पहिलो राउण्ड पछि उनको स्वदेश फर्किने फ्लाइट टिकेट थियो।

तर हरेक जित पश्चात् टिकेटको मिति सारिँदै गयो र उनी अझै पनि न्यू योर्कमै छिन्। अब उनीसँगै बेलायत जाने छन् यूएस ओपन उपाधि, कीर्तिमानहरुको लामो सूची र बेलायतकी नयाँ टेनिस सुपरस्टारको खिताब।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया