सन्दीप लामिछानेको एउटै खेलमा तीन उपलब्धि, ३०० विकेट पूरा गर्ने पहिलो बलर

लोकपथ
70
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलरको कीर्तिमान बनाएका छन् ।

एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको फाइनलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

सन्दीपले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५८ र टी–२० अन्तर्राष्ट्रियमा १४२ विकेट लिएका छन् । उनले एकदिवसीयमा ७९ र टी–२० अन्तर्राष्ट्रियमा ७८ खेल खेलेका छन् ।

यसैगरी, सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने पहिलो नेपाली कप्तानको उपलब्धिसमेत हासिल गरेका छन् । यसअघि सन् २०२३ मा नेपालले घरेलु मैदानमा उपाधि जित्दा टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए ।

सन्दीप एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडी पनि बनेका छन् । सन् २०२३ को संस्करणमा उनले ५५ रन बनाउनुका साथै १३ विकेट लिएर उत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए ।

यसपालि पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै छ खेलमा २।९८ को इकोनमी रेटमा सर्वाधिक १७ विकेट लिए । उनको प्रभावशाली प्रदर्शनले नेपाललाई दोस्रोपटक एसिया कपमा स्थान बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?