यस पटकका तीजगीत : ‘चरी जेलैमा’ देखि ‘सम्झिने पानी छम्किने’ सम्म

काठमाडाैं । तीजगीत भन्नेबित्तिकै नेपाली नारीहरुको महान चाड तीज झल्किने गीत भन्ने बुझिन्छ । विशेष गरेर तीजगीतमा हिन्दु नारीहरुका सुखदुःखलगायतका विषयवस्तु समेटिने गर्छन् ।

समयसँगै तीजगीतमा पनि परिवर्तन आएको छ । १०-१५ वर्षकै सेरोफेरोलाई हेर्ने हो भने तीजगीतमा धेरै परिवर्तन आएको पाइन्छ ।

पहिलेका तीजगीतमा विवाहित नारीले आफ्ना घरका बारेमा सुखदुःख पोख्थे । चेलीले घरमा पाएका दुःखकै सेरोफेरोमा गीत बन्थे । वर्षभरिका सुखदुःख पोख्ने थलोको रुपमा तीजगीतलाई लिइन्थ्यो ।

तर अहिले समय बदलिएको छ । समयसँगै नेपाली नारीको जनजीवनमा पनि परिवर्तन आएको छ । शिक्षामा पहुँचसँगै उनीहरु आर्थिक रुपमा पनि आत्मनिर्भर बन्दै आएका छन् । बिहे गरेर गएको घरमा चेलीले पहिलेको जस्तो दुःख भोग्नुपर्ने अवस्था छैन अहिले ।

तीजगीतमा समेत यो कुरा देख्न सकिन्छ । केही गीतबाहेक अधिकांश तीजगीतमा नारीहरुका दुःख भेटिन्नन् । अहिलेका तीजगीतमा नाच्ने, गाउने, रमाइलो गर्ने र घरपरिवारको साथ सहयोगका बारेमा नै बढी चर्चा भएको पाइन्छ ।

गीतमा पनि तीजलाई नारीको उत्सवको रुपमा वर्णन गरिएको पाइन्छ ।

थाेरै गीत भए रिलिज

तुलनात्मक रुपमा यसवर्ष धेरै कम गीत रिलिज भए । कोरोना महामारी नहुँदाका समयमा तीजका गीतको बाढी नै आउँथ्यो । धेरैजसो कलाकारले तीजगीत निकाल्थे । कतिपय कलाकार तीजगीत रेकर्ड गर्न समेत भ्याईनभ्याई हुन्थे ।

तर कोरोनाले तीजगीतको बजारलाई समेत ध्वस्त बनाएको छ । यतिबेला लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरु तीजविशेष कार्यक्रममा भ्याईनभ्याई हुन्थे ।

चलेका गायकगायिकाहरु २/३ महिनाअघिदेखि नै देशविदेशका कार्यक्रका लागि अनुबन्धित हुन्थे । तर अहिले सबै क्षेत्र सुनसान छ ।

यी पाँच गीतले कमाए लोकप्रियता

कोरोना कहरका बाबजुद पनि सर्वजनिक भएका केही तीजगीतले भने राम्रो लोकप्रियता कमाउन सफल भएका छन् । कतिपय गीतको चर्चा समेत भएन । आए अनि गए ।

तर केही गीतहरुले भने लोकप्रियतासँगै युट्युबमा राम्रो दर्शक पाएका छन । यिनीहरुको चर्चा पनि धेरै छ ।

‘चरी जेलैमा’

यस वर्ष सबैभन्दा चर्चामा रहेको तीज गीत हो, ‘चरी जेलैमा’ । विष्णु माझीको स्वर रहेको यस गीतले छोटो समयमा नै निकै लोकप्रियता कमायो । युट्युबमा यो गीतलाई १ करोड ७३ लाख पटक हेरिएको छ ।

सार्वजनिक भएको १३ दिनमा नै युट्युबमा एक करोड भ्युज पार गरेको यो गीतले अहिलेसम्म सबैभन्दा छिटो करोड भ्युज पाउने गीतमा रेकर्ड कायम भएको छ ।

‘पुतलीको भट्टी, भाग १७’ का रूपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडियोमा ललिता पौड्यालल गायतलाई देख्न सकिन्छ ।

‘कुरा बुझ्न पर्च’

त्यसैगरी यो वर्ष निकै चलेको अर्काे तीजगीत हो, ‘कुरा बुझ्न पर्च’ । प्रकाश सपुतको शब्द र संगीतमा रहेको यो गीतलाई सार्वजनिक भएको एक महिनामा युट्युबमा एक करोड ६० लाख पटक हेरिएको छ ।

शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर रहेको यस गीतको भिडियोमा स्वस्तिमा खड्का र आँचल शर्मालाई देख्न सकिन्छ ।

‘सोल्टी राजाको टुम्लेट’

यसैगरी यसवर्ष बढी हेरिएको अर्को तीजगीत हो, ‘सोल्टी राजाको टुम्लेट’ । एकनारायण भण्डारीको शब्द एवं संगीत रहेको गीतमा प्रीति आलेको स्वर छ ।

‘फरिया भाग २’ का रूपमा सार्वजनिक गरिएको यो गीतलाई युट्युबमा एक करोड तीन लाखभन्दा बढी पटक हेरिएको छ । यसमा रामजी खाँण र प्रीति आलेको अभिनय छ ।

‘सम्झिने पानी छम्किने’

यसैगरी सम्राट चौलागाईंको ‘सम्झिने पानी छम्किने’ गीतले पनि छोटो समयमा लोकप्रियता पाएको छ । एक महिनाअघि सार्वजनिक भएको यस गीतलाई युट्युबमा एक करोड १९ लाख पटक हेरिएको छ ।

सम्राट चौलागाईंको शब्द एवं संगीत रहेको गीतमा सम्राटसँगै रचना रिमाल, स्मिता दाहाल, ममता गुरुङको स्वर छ ।

भिडियोमा चर्चित अनुहारहरु भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुंगाना, सम्राट चौलागाईंलगायतलाई देख्न सकिन्छ ।

‘कुरा काटन’
लोकदोहोरीका धेरै कलाकारले गाएको ‘कुरा काटन’ बोलको तीजगीतले पनि राम्रो लोकप्रियता कमाएको छ । एक महिनाअघि सार्वजनिक गरिएको यो गीतलाई युट्युबमा अहिलेसम्म ७९ लाख पटक हेरिएको छ ।

दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ भने खुमन अधिकारी, देवी घर्ती, शान्तिश्री परियार, शीला आले, सम्झना भण्डारी, पूर्णकला बिसी, जुना श्रीस, सरिता कार्की र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।

भिडियोमा शंकर बिसी, सम्झना बुढाथोकी, विनोद श्रेष्ठ, रञ्जिता गुरुङ, शिवन पोखरेल, अञ्जु निरौला, कृष्ण रसाईली, पूर्णिमा श्रेष्ठ, महेन्द्र गौतम, सारिका केसी, विमल अधिकारी, अञ्जली अधिकारी, ओबी रायमाझी, दीपाशा बिसी र करिष्मा ढकाललाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?