काठमाडौं, २९ चैत । तीन दिनसम्म काठमाडौंमा भएको एक कार्यक्रममा पानीको व्यवस्थापनबारे लगातार बहस भएको छ ।जसमा सहभागिहरुबीच नेपालका सम्बन्धमा जसले स्थानीयदेखि राष्ट्रिय तहका पानीको मुद्दाको सहज ढंगले समाधान गर्न सक्छ, त्यही व्यक्ति नेता बन्ने निष्कर्ष निकालियो ।राजधानीमा भएको “पानी वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी” विषयक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ र नेपालका राजनीतिक पार्टीका प्रतिनिधिहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।छलफलमा सहभागी थिए–लामो समयदेखि पानीको क्षेत्रमा कार्यरत राजनीतिकर्मी एवम् इञ्जिनियर तथा पूर्वमन्त्री गणेश शाह, पूर्व सचिव ई.शीतलबाबु रेग्मी, एमालेकी नेतृ तथा सांसद रामकुमारी झाक्री, पूर्व सचिव तथा विवेकशील साझा पार्टीका नेता ई.किशोर थापा, योजना आयोगका पूर्व सदस्य सुनिलबाबु श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्मा ।सहभागि पूर्व मन्त्री इं. गणेश साहल संसारका विभिन्न भागमा संकटको रुपमा देखा परेको स्वच्छ पानीको प्राप्यताका लागि काम गर्न सक्ने अर्थात पानीको समस्या समाधान गर्न सक्ने व्यक्ति नै नेताको रुपमा उदय हुने बताए ।उनले त्यस्तो व्यक्तिमा टीम बनाउने क्षमता,प्राविधिक र कानुनका विज्ञहरुलाई समेटन सक्ने र पानीको व्यवस्थापनका लागि जनशक्ति उत्पादन गर्ने क्षमता,पानीका सम्बन्धमा आवश्यक जानकारी सबैलाई दिन सक्ने र सर्वस्वीकार्य वा सहमतिको निर्णय गराउने क्षमता निहित हुनुका साथै सामाजिक वस्तुको रुपमा रहेको समान र न्यायोेचित वितरण गर्ने कला हुनुपर्ने धारणा राखे ।कार्यक्रमका अर्का वक्ता पूर्व सचिव ई.शितलबाबु रेग्मीले पानीको प्रचूरता रहेपनि प्रतिव्यक्ति उपलब्धताका हिसाबले अभाव नै झेलिरहेका नेपालीका लागि सिंचाई,खानेपानी र अन्य उपयोगमा पर्याप्त र आवश्यक मात्रामा पानी उपलब्ध गराउन सक्ने व्यक्ति नै पानीको क्षेत्रको मात्र नभई देशकै नेता हुने बताए ।उनले पानीको समस्या समाधान भए नेपालको समृद्धिको ढोका खुल्ने पनि बताए । पूर्व सचिव रेग्मीले नेपालमा पानीको विषय सधै पेचिलो बन्ने गरेको र छिमेकी मित्रराष्ट्रसँग भएका सन्धी संझौताहरु विवादमा पर्दै आएको भन्दै कोशी, गण्डकी र महाकाली जस्ता सन्धीहरु विवादमा परेको स्मरण गरे ।‘मुलुक संघीयतामा भगैसके छ । केही पछि प्रदेशहरुका बीचमा पनि पानीले द्धन्द्ध निम्त्याउने खतरा रहन्छ, जसले संभाव्य र हाल देखिएका समस्या समाधान गर्न सक्छ, त्यस्तो व्यक्ति नै नेताको रुपमा उदाउँछ’ रेग्मीले भने ।एमालेकी सांसद रामकमारी झाक्रीले आवश्यकता अनुसार पानी उपलब्ध गराउने प्रविधिको उपयोग गर्ने र जनताका मागलाई संबोधन गर्न सक्ने प्राविधिकहरुको सहयोगप्राप्त सामाजिक नेता नै आउँदा दिनमा नेताका रुपमा उदाउने र स्थापित हुने बताइन् ।कार्यक्रममा अर्का वक्ता विवेकशील साझा पार्टीका नेता इं किशोर थापाले नेपाली समाजलाई पानीका कारणले विभाजित हैन जोड्न सक्ने व्यक्ति नै भावी नेताको रुपमा स्थापित हुने बताए । उहाँले संघीयतामा उठन सकने पानीको मुद्दालाई संबोधन गर्न सक्ने,छिमेकी मित्र राष्ट्रहरुसंग डुवान, तटबन्धका विषयमा कुरा गरेर नेपालीलाई बाढी,पहिरो,डुबानबाट मुक्त गर्न सक्ने, पानी र युवा उमेर समूहका नेपालीहरुको व्यवस्थापन गर्न सक्ने व्यक्ति नै नेपालको नेताहुने विचार राख्दै आजसम्म त्यस्तो व्यक्ति नै नजन्मिएको बताए ।कार्यक्रममा योजना आयोगका पूर्व सदस्य सुनिलबाबु श्रेष्ठले स्मार्ट प्रविधिको उपयोग गरी पानीलाई व्यवस्थापन गर्न सकिने बताए । पूर्वमन्त्री आनन्द पोखरेलले नेपालका हिमालयहरु यसको दक्षिण भेगमा बस्ने नेपाल र भारतका झण्डै एक अर्ब मानिसको जीवनको आधारको रुपमा रहेको पानीको स्रोत भएकोले यसको संरक्षणमा विवेक पुर्याउन सक्ने व्यक्ति नै नेता हुन सक्ने बताए ।उनले कार्बन उत्सर्जनमा कुनै भूमिका नै नभएको नेपालले विश्वका अधिक कार्बन उत्सर्जन गर्ने भारत(१५ प्रतिशत) , चीन( २५प्रतिशत) र अमेरिका(२१प्रतिशत) र युरोपेली मुलुकहरुको उत्सजर्नले निम्त्याएको ग्लोबल वार्मिड.का कारण पृथ्वीका तापक्रम बढेर हिउ पग्लने र पानीको स्रोत सुक्ने जस्ता दुष्प्रभाव भोग्न परेको भन्दै पानीको स्रोत संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।पूर्व मन्त्री जनार्दन शर्माले पानीको समुचित व्यवस्थापन गर्न नसक्दा बाढी,पहिरो, डुबान, खानेपानी तथा सिंचाईको अभाव सिजना हुन गएको तथ्य राख्दै यसको समुचित प्रयोग गर्न आवश्यक भएको बताए ।नेता शर्माले आफू ऊर्जामन्त्री भएका बेला “नेपालको पानी जनताको लगानी“ नामक कार्यक्रममार्फत नेपालका जलविद्युत निर्माणको कार्यक्रमको थालनी गरेका स्मरण गराए । उनले सोही कार्यक्रममार्फत १० हजार मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाका लागि पनि नेपाली स्रोत जुटाउने प्रयास थालिएको भन्दै जलाशययुक्त विद्युत आयोजनाको निर्माणबाट पानीको दिगो संरक्षण र उपयोग हुने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया